अन्तर्राष्ट्रिय

जर्मनीको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सीमित

युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको आर्थिक वृद्धिदर सन् २०२६ को तेस्रो त्रैमासिकमा सुस्त बनेको छ । निर्यात र लगानीमा आएको गिरावटका कारण जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

जर्मनीको संघीय तथ्यांक कार्यालय (डेस्टाटिस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वृद्धिदर यसअघि गरिएको ०.२ प्रतिशतको प्रारम्भिक अनुमानभन्दा कम हो । दोस्रो त्रैमासिकमा भने अर्थतन्त्र ०.३ प्रतिशतले विस्तार भएको थियो ।

गत वर्षको सोही अवधिको तुलनामा तेस्रो त्रैमासिकमा जर्मनीको अर्थतन्त्र १.२ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात ३.१ प्रतिशतले र आयात मूल्य समायोजनपछि १.३ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

सरकारी उपभोग खर्च पनि वार्षिक आधारमा १.७ प्रतिशतले बढेको छ। विशेषगरी संघीय सरकारको खर्च वृद्धि हुँदा यसमा योगदान पुगेको हो ।

डेस्टाटिसकी अध्यक्ष रुथ ब्रान्डले पहिलो अर्धवार्षिक अवधिमा भूराजनीतिक संकटका बाबजुद जर्मन अर्थतन्त्रले लचकता देखाए पनि तेस्रो त्रैमासिकमा गति गुमाएको बताए।  

यस अवधिमा घरपरिवार र सरकारी उपभोग खर्चमा सामान्य वृद्धि भए पनि लगानी भने अघिल्लो त्रैमासिकको तुलनामा १.२ प्रतिशतले घटेको छ । मेसिनरी तथा उपकरणमा खर्च उल्लेख्य रूपमा घट्नु यसको प्रमुख कारण रहेको छ ।

त्यस्तै, वस्तु तथा सेवाको निर्यात पनि अघिल्लो त्रैमासिकको तुलनामा एक प्रतिशतले घटेको छ। सवारीसाधन तथा अटो पाट्र्स, रासायनिक पदार्थ र धातुजन्य उत्पादनको निर्यातमा गिरावट आएको हो ।

उच्च ऊर्जा लागत, आन्तरिक जलमार्गमा ढुवानी अवरोध तथा मध्यपूर्वको द्वन्द्वका कारण पहिले नै बढाइएको खरिदको प्रभाव कम हुँदै जाँदा जर्मन उद्योगको निर्यात थप दबाबमा परेको छ ।

जर्मनीको केन्द्रीय बैंकले चौथो त्रैमासिकमा विस्तारकारी सरकारी वित्तीय नीति र औद्योगिक मागमा सुधारका कारण आर्थिक वृद्धि पुनः गति लिन सक्ने अनुमान गरेको छ । यद्यपि उच्च ब्याजदर, ऊर्जा मूल्य र कमजोर व्यावसायिक लगानीले अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थप्न सक्ने बताइएको छ ।

प्रकाशित: १० मंसिर २०८३ २०:०३ बिहीबार