जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबिच भएको दुई हप्ते युद्धविरामलाई समर्थन गर्न इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन्।
बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयपछिको तनावपछि कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताए। तर मध्यपूर्वको अवस्था अझै संवेदनशील रहेकाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिएका छन्।
अमेरिका र इरानबिचको यो वार्ता शनिबार पाकिस्तानको राजधानी इस्लामाबादमा हुने तय भएको छ। यसका लागि जर्मनीको उच्चस्तरीय टोली पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ। मर्जले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग टेलिफोन संवाद गरी वार्ताको तयारी र समन्वयबारे छलफल गर्ने कार्यक्रम छ।
यसैबिच, मर्जले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन वार्ता गरेका छन्। उनले अमेरिकालाई यो वार्तालाई गम्भीरतापूर्वक लिन र दीर्घकालीन शान्तिका लागि सक्रिय भूमिका खेल्न आग्रह गरे। यद्यपि, उनले जर्मनीमा रहेका अमेरिकी सैनिक फौज फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
मर्जले लेबनानको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। इजरायलले लेबनानमा जारी राखेको सैन्य कारबाहीले शान्ति प्रक्रियामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै उनले भने, ‘यदि यस्तो गतिविधि जारी रह्यो भने हाल सुरु भएको कूटनीतिक पहल असफल हुन सक्ने जोखिम उच्च रहनेछ।’
जर्मनीले हालको परिस्थितिलाई कूटनीतिक समाधानको अवसरका रूपमा लिँदै शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँगको समन्वयलाई तीव्र बनाएको छ। सिन्हवा
प्रकाशित: २७ चैत्र २०८२ १३:२० शुक्रबार



