अन्तर्राष्ट्रिय

पहिरोपछि महासचिव सीले बोलाए पार्टी नेतृत्व बैठक

फाइल तस्बिर

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको गाइरोङ काउन्टीमा विनाशकारी पहिरो गएपछि उद्धार तथा राहत प्रयासबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेतृत्व बैठक गरेको छ।

सीपीसी केन्द्रीय समितिका महासचिव एवं चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले शुक्रबार पहिरोपछि उद्धार तथा राहतका कामबारे छलफल गर्न पार्टी नेतृत्व बैठकको अध्यक्षता गरेका थिए।

बैठकको सुरुवातमा सीसहित अन्य नेताहरूले बुधबार गाइरोङको सीमावर्ती बन्दरगाहमा गएको पहिरोका पीडितप्रति शोक व्यक्त गर्दै मौनधारण गरेका थिए।

बैठकले गाइरोङ काउन्टीको पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारमा पूर्ण प्रयास गर्न आग्रह गरेको छ।

त्यस्तै, नेपालका पहिरो प्रभावित क्षेत्रमा चीनले आपतकालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले नेपालमा पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन सहायता प्रदान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

गाइरोङ काउन्टीमा बुधबार गएको पहिरोपछि उद्धार तथा राहतका प्रयासलाई प्रभावकारी बनाउन बैठकमा छलफल गरिएको सिन्हवाले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १२:३८ शुक्रबार