अन्तर्राष्ट्रिय

इजरायल-हमास संघर्षको चपेटामा गाजा

मध्यपूर्वको सानो भूभाग गाजा विश्वभर सधैं चर्चाको केन्द्रमा छ। इजरायल र हमासबिचको लडाइँ केवल जमिनको झगडा होइन, यो पहिचान, स्वतन्त्रता र बाँच्ने अधिकारको संघर्ष पनि हो। पछिल्लो पटक २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजाको विषय थप चर्चामा छ। इजरायल र हमासबिचको बढ्दो द्वन्द्वका कारण गाजा क्षेत्र मानवीय संकटको चपेटामा छ। इजरायली सेनाको आक्रमण र हमासको प्रतिरोधले गाजा रगतले रंगिएको छ। लाखौं मानिस घरबारविहीन बनेका छन्। भोकमरी र रोगले गाजावासीको जीवन कष्टकर बनेको छ।

यो लडाइँ र संघर्ष १९औं शताब्दीदेखि जारी छ। युरोपमा यहुदीहरूमाथि दमन भएपछि उनीहरूले प्यालेस्टाइनलाई आफ्नो देश बनाउने सपना देखे। यो सपनालाई जायोनवादी आन्दोलन भनियो। सन् १९१७ मा बेलायतले बाल्फोर घोषणामार्फत यहुदीहरूलाई प्यालेस्टाइनमा राष्ट्रिय घर दिने वाचा गर्‍यो। यो वाचाले त्यहाँका अरबीहरू रिसाए। उनीहरूले आफ्नो जमिन गुम्ने डर देखे। सन् १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई दुई देशमा बाँड्ने प्रस्ताव राख्यो। यहुदीहरूले यो प्रस्ताव माने पनि अरब देशहरूले अस्वीकार गरे।

विवादबिच जब सन् १९४८ मा इजरायल देश बन्यो तब अरब–इजरायल युद्ध भयो। करिब सात लाख प्यालेस्टाइनीहरू आफ्नो घर छाड्न बाध्य भए। उनीहरूले यसलाई नक्बा अर्थात् विपत्ति भन्छन्। यो घटनाले प्यालेस्टाइनीहरूको मनमा गहिरो चोट पुग्यो। उनीहरूले आफ्नो जमिन, घर र पहिचान गुमाउनु पर्‍यो। त्यहींदेखि संघर्ष र लडाइँ सुरु भयो, जुन अद्यापि छ। नक्बाले प्यालेस्टाइनीहरूको पीडा बोकेको छ।

६ दिने युद्ध: कब्जाको सुरुवात

सन् १९६७ मा भएको ६ दिने युद्धले यो समस्या झन् जटिल बनायो। इजरायलले गाजा, वेस्ट बैंक, र पूर्वी जेरुसेलम कब्जा गर्‍यो। यो युद्धमा प्यालेस्टाइनीहरूको धेरै जमिन खोसियो। सन् १९९३ मा ओस्लो सम्झौताले शान्तिको आशा देखायो। सम्झौताले प्यालेस्टाइनलाई आंशिक स्वतन्त्रता दिने वाचा गरे पनि त्यो पूर्ण भएन। ओस्लो सम्झौताले धेरै आशा जगाए पनि  त्यसले व्यवहारमा खास परिवर्तन ल्याउन सकेन।

इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलममा यहुदी बस्तीहरू बसाउँदै आएको छ। यी बस्तीहरूमा ६ लाखभन्दा बढी यहुदी छन्। अन्तर्राष्ट्रिय कानुनले यी बस्तीहरूलाई गैरकानुनी मान्छ। यी बस्तीहरूले प्यालेस्टाइनको भूभाग टुक्रा-टुक्रा बनाएको छ। जसले प्यालेस्टाइनीहरूको आवागमन र स्रोतमा पहुँच सीमित भयो। सन् २००५ मा इजरायलले गाजाबाट आफ्ना बस्तीहरू हटायो। तर इजरायल र इजिप्ट मिलेर गाजामा नाकाबन्दी गरे। यो नाकाबन्दीले गाजालाई खुला जेल बनाएको छ। खाना, औषधि र इन्धन अभावले गाजावासीको जीवन कष्टकर बनेको छ।

वेस्ट बैंक र गाजा

वेस्ट बैंक र गाजा दुवै प्यालेस्टाइनी क्षेत्र हुन्। तर ती क्षेत्रको अवस्था फरक छ। वेस्ट बैंक ५ हजार ६४० वर्ग किलोमिटरमा फैलिएको छ। त्यहाँ ७० लाख मानिस बस्छन्। त्यहाँ प्यालेस्टाइन राष्ट्रिय प्राधिकरणको आंशिक नियन्त्रण छ, फतह पार्टीको प्रभाव छ। तर इजरायली सेना र बस्तीका कारण प्यालेस्टाइनीहरूको स्वतन्त्रता खोसिएको छ। सडकमा ठाउँठाउँमा चेकपोस्ट छन्। प्यालेस्टाइनीहरूको दैनिकी कठिन बनेको छ। वेस्ट बैंकको तुलनामा गाजा क्षेत्र (३६५ वर्ग किलोमिटर) सानो छ। यहाँ २१ लाख मानिस बस्छन्। सन् २००६ देखि हमासले गाजामा नियन्त्रण कायम राखेको छ। इजरायलको नाकाबन्दीले गाजालाई विश्वबाट अलग बनाएको छ। बिजुली, पानी र आधारभूत सुविधाको अभाव छ। गाजावासीको जीवन सधैं संकट र त्रासमा छ।

हमास: स्वतन्त्रता वा आतंक?

हमासको स्थापना सन् १९८७ मा शेख अहमद यासिनले गरेका थिए। यो इस्लामिक संगठन हो। यसले प्यालेस्टाइनलाई इजरायलको कब्जाबाट मुक्त गर्ने लक्ष्य राख्छ। सन् २००६ मा हमासले गाजामा चुनाव जितेको थियो। सन् २००७ मा फतहलाई हटाएर हमासले गाजामा शासन गर्न थाल्यो। हमासले इजरायलमाथि रकेट हमला गर्छ। इजरायल, अमेरिका र युरोपले हमासलाई आतंकवादी संगठन भन्छन्। तर गाजावासी हमासलाई दमनविरुद्धको योद्धा मान्छन्। हमासले गाजामा स्कुल, अस्पताल र सामाजिक सेवा चलाउँछ। यसले गाजावासीको भारी समर्थन पनि पाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्‍यो। यो आक्रमणलाई अल-अक्सा फ्लड भनियो। हमासले गाजा-इजरायल सीमापार गरेर गरेको आक्रमणमा एक हजार दुई सय इजरायली मारिए। हमासले आक्रमणपछि दुई सय ५१ जनालाई बन्धक बनायो। यो इजरायलको इतिहासमा सबैभन्दा ठुलो आक्रमण थियो। जवाफमा इजरायलले गाजामा आक्रमण सुरु गर्‍यो। उसले नाकाबन्दी पनि कडा बनायो। इजरायली आक्रमणबाट ६१ हजारभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन्। त्यस्तै एक लाख ५४ हजारभन्दा बढी घाइते छन्। १४ हजारभन्दा धेरै मानिस भग्नावशेषमुनि हराइरहेको आशंका छ। गाजाको जीवन चरम संकटमा छ । संयुक्त राष्ट्रसंघले इजरायलको कारबाहीलाई युद्ध अपराधको संज्ञा दिएको छ।

गाजामा भोकमरी र विनाश

गाजामा मानवीय संकट भयावह छ। भोकमरीले सयौं बालबालिकासहित धेरैले ज्यान गुमाएका छन्। इजरायलले सन् २०२५ मार्च २ देखि सहायता पनि रोकेको छ। खाना, औषधि र इन्धनको अभाव छ। फ्रान्स, जोर्डन र युएईले गाजामा हवाई मार्गबाट सहायता पठाउँछन् तर त्यो पर्याप्त छैन। गाजाका ९० प्रतिशत अस्पताल बन्द छन्। बिरामी र घाइतेले उपचार पाएका छैनन्। २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। गाजाका स्कुल र घरहरू ध्वस्त छन्। बालबालिकाको भविष्य संकटमा छ।

विश्वको प्रतिक्रिया

इजरायल, अमेरिका र युरोपले हमासलाई आतंकवादी भन्छन्। हमासको रकेट हमला र बन्धक बनाउने कार्यले पछिल्लो युद्ध निम्ताएको ती देश ठान्छन्।  हमासमाथि नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप छ। हमास समर्थकहरू भने इजरायलको ७५ वर्षको दमनले यो अवस्था आएको तर्क गर्छन्। उनीहरू हमासले स्वतन्त्रताको लडाइँ गरिरहेको ठान्छन्। अर्कोतर्फ इजरायलमाथि राज्य आतंकवाद चलाएको आरोप छ। गाजामा नाकाबन्दी र नागरिकमाथिको बमबारीलाई युद्ध अपराध भनिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध अनुसन्धान थालेको छ। दुवैले एक अर्कालाई दोष दिन्छन्। तर निर्दोष नागरिकहरूको ज्यान गइरहेको छ।

यो लडाइँले विश्वलाई दुई भागमा बाँडेको छ। मुख्य रूपमा इरान, लेबनानको हिजबुल्लाह, यमनको हुथीले हमास गतिविधिलाई समर्थन गरेका छन्। यी समूहले इजरायललाई क्षेत्रीय खतरा ठान्छन्। हमासले जारी राखेको युद्धमा इरानसहित यी क्षेत्रीय समूहहरू प्रत्यक्ष रूपमा संलग्न छन्। युरोपमा इजरायलको समर्थन गर्ने घट्दै छन्। फ्रान्स, स्पेन, आयरल्यान्ड र नर्वे प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने पक्षमा छन्। अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरिसकेको छ। यी देशहरू गाजा हमासको नियन्त्रणमा हुन नहुने सर्तसहित प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिन तयार देखिन्छन्।

अमेरिका इजरायलको सबैभन्दा ठुलो समर्थक हो। उसले इजरायललाई हतियार र कूटनीतिक सहायता दिन्छ । अमेरिकाले संयुक्त राष्ट्रसंघमा युद्धविराम प्रस्ताव राख्न बारम्बार रोकेको छ। मूलधारका पश्चिमा मिडिया पनि इजरायलको पक्षमा देखिन्छन्। तर सामाजिक सञ्जालले गाजाको विनाश विश्वसामु ल्याएका छन्। यसकारण इजरायलमाथि कूटनीतिक दबाब बढेको छ। विश्व समुदायले त्यहाँ शान्ति चाहिरहेको छ।

नेतन्याहु: युद्ध कि सत्ता?

दुई दशकदेखि इजरायलको सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु यो लडाइँको केन्द्रमा छन्। उनले हमासलाई नष्ट गर्ने कडा नीति लिएका छन्। उनको बृहत्तर इजरायल योजनाले प्यालेस्टाइनी जमिन कब्जा गर्ने लक्ष्य राख्छ। देशभित्र नेतन्याहुमाथि भ्रष्टाचारका मुद्दा छन्। उनले युद्धलाई सत्ता जोगाउने अस्त्र बनाएको आरोप छ। उनले इरानविरुद्ध अमेरिकालाई पनि उक्साएको बताइन्छ। यो रणनीतिले क्षेत्रीय तनाव बढाएको छ। इजरायलमा नेतन्याहुको विरोध बढ्दै छ। बन्धकका परिवार सडकमा छन्। उनीहरू युद्धविराम चाहन्छन्। नेतन्याहुको गाजा सहर कब्जा गर्ने योजनालाई लिएर विश्वले आलोचना गर्दै आएको छ।

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने गाजा कब्जा हुनेनहुने कुरा आफ्नो सरोकारको विषय नभएको र त्यो नेतन्याहुको हातमा रहेको भन्दै पन्छिन खोजिरहेका छन्। अरब देशहरू गाजाको संकटमा अमेरिकाका कारण मौन छन्। ती देशका सरकारहरू प्यालेस्टाइनीहरूलाई उनीहरूले चाहेजसरी समर्थन गरिरहेका छैनन्। यो मौनताले क्षेत्रीय शान्तिलाई कठिन बनाएको छ। क्षेत्रीय शक्तिहरूको भूमिकाले यो लडाइँलाई झन् जटिल बनाएको छ।

शान्तिको बाटो

यो लडाइँको समाधान सजिलो छैन। शान्तिका लागि धेरै कदम चाल्नुपर्ने देखिन्छ। पहिलो, दुई देशबिचको समस्या समाधान आवश्यक छ । सन् १९६७ को सीमामा आधारित स्वतन्त्र प्यालेस्टाइन देश बन्नुपर्छ। पूर्वी जेरुसेलम यसको राजधानी हुनुपर्छ। यो समाधानले प्यालेस्टाइनीहरूलाई आफ्नो देश र पहिचान दिन्छ।

दोस्रो, इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलमका बस्तीहरू हटाउनुपर्छ। ती बस्तीले प्यालेस्टाइनीको जमिन खोसेका छन्। तेस्रो, गाजामाथिको नाकाबन्दी हटाउनुपर्छ। नाकाबन्दीले गाजावासीलाई आधारभूत सुविधाबाट वञ्चित गरेको छ। सहायता सामग्री पुग्न दिनुपर्छ। चौथो, संयुक्त राष्ट्रसंघ र तटस्थ देशहरूले निष्पक्ष वार्ता गराउनुपर्छ। विश्व समुदायको सहयोगबिना शान्ति सम्भव छैन।

पाँचौं, हमास र इजरायलले हिंसा छोड्नुपर्छ। बन्दुकले समाधान दिँदैन, वार्ताले दिन्छ। इरान र अरब देशहरूले शान्तिमा सहयोग गर्नुपर्छ। क्षेत्रीय एकताले मात्र यो लडाइँ रोक्न सक्छ। इजरायल र हमासको लडाइँ इतिहास, धर्म र राजनीतिमा जेलिएको छ। इजरायलको बस्ती विस्तारको नीति र नाकाबन्दीले गाजालाई रगतले रंगाएको छ। भोकमरी र विनाशले गाजावासीको जीवन नरक बनेको छ। इजरायल र हमासले एकअर्काको अस्तित्व स्विकार्नुपर्छ।

गाजामा भयानक भोकमरी: संयुक्त राष्ट्रसंघ

गाजा सिटीमा चरम भोकमरी देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संघअन्तर्गतको खाद्य सुरक्षा अनुगमन गर्ने निकायले शुक्रबार सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार खाद्य असुरक्षाका हिसाबले गाजा सबैभन्दा चरम अवस्था (पाँचौं तह) मा पुगेको छ।गाजापट्टीका पाँच लाख मानिसले भोकमरी, अभाव र मृत्युको सामना गरिरहेको प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

भोकमरीका कारण गाजा सिटीका एक लाख ३२ हजार बालबालिका कुपोषणको चपेटामा परेका छन्। आगामी दिनमा गाजामा बिरामीको संख्या बढ्ने प्रतिवेदनमा भनिएको छ। गाजामा इजरायले नाकाबन्दी लगाएको छ।इजरायलेका आक्रमण र नाकाबन्दीका कारण गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको हो।

प्रतिवेदनमाथि प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले ‘गाजा यसअघि नै जीवित नर्कजस्तो रहेकोमा अब त्यहाँ भोकमरी पनि थपिएको’ बताएका छन्। उनले भनेका छन्, ‘यो मानवजन्य विपत्ति हो र मानवता पनि असफल भएको संकेत हो।’

उनले अन्तर्राष्ट्रिय कानुनअनुसार गाजामा इजरायलले खाद्यान्न र औषधि आपूर्ति सुनिश्चित गर्नुपर्ने उसको कर्तव्य र जिम्मेवारी रहेको बताएका छन्। उनले भनेका छन्,  ‘हामीले यो अवस्थालाई दण्डविहीन रुपमा चल्न दिँदैनौं। यसमा कुनै बहानावाजी स्वीकार्य छैन। गाजामा युद्धविराम, सबै बन्धकको तुरुन्त रिहाइ, अवरोधरहित मानवीय सहायताको पहुँच तत्काल आवश्यक छ।’

यसैगरी राष्ट्रसंघका आपत्कालीन राहत संयोजक टोम फ्रेचरले गाजाका संकट विश्वका लागि ‘लज्जास्पद विषय’ रहेको र तत्काल भोकमरीको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।इजरायलले भने हमासले दिएको सूचनाका आधारमा गलत प्रतिवेदन बनाइएको दाबी गरेको छ। इजरायलले गाजामा भोकमरी नभएको दाबी गरेको छ। 

प्रकाशित: ७ भाद्र २०८२ ०६:५३ शनिबार