मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
रेलवेका प्रवक्ता कलीम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराचीबाट उत्तरपश्चिमी सहर पेशावरतर्फ गइरहेको रेल सेर शाह सहरमा दुर्घटनामा परेको हो।
उद्धारकर्ताहरूले रेलका १४ वटा डिब्बाबाट यात्रुलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएका छन्।
घटनास्थलमा उद्धारकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए।
दुर्घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै दुःख व्यक्त गरे।
उनीहरूले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेका छन्।
पाकिस्तानमा दशकौँदेखिको न्यून लगानी, पुराना रेलमार्ग र जीर्ण सङ्केत प्रणालीका कारण रेल दुर्घटना हुने गरेका छन्।
सन् २०२३ मा दक्षिणी पाकिस्तानमा यात्रुवाहक रेलका १० वटा डिब्बा पटरीबाट खस्दा ३० जनाको मृत्यु भएको थियो भने ९० भन्दा बढी घाइते भएका थिए।
प्रकाशित: २७ आश्विन २०८३ १४:२६ मंगलबार