अन्तर्राष्ट्रिय

चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्। 

स्थानीय सरकारी अधिकारीका अनुसार बिहीबार तीन जनाको शव समुद्री छालले किनारमा बगाएर ल्याएको अवस्थामा कोठापट्टनम समुद्री तट नजिक फेला परेको थियो। अर्को एक जनाको शव भारतीय तटरक्षक बलले समुद्रबाट बरामद गरेको हो। मृतक तथा बेपत्ता सबै माझी छिमेकी राज्य तमिलनाडुका बासिन्दा रहेको बताइएको छ। 

अधिकारीहरूका अनुसार गत अक्टोबर २९ मा नौ जना माझी एउटै डुङ्गामा माछा मार्न समुद्रमा गएका थिए। तर, मङ्गलबार बिहान दक्षिणी तटीय क्षेत्रमा आएको मुरासु नामक चक्रवातमा परेपछि उनीहरू बेपत्ता भएका थिए। समुद्री किनारबाट करिब दुई किलोमिटर टाढा उनीहरूको डुङ्गा पल्टिएको बताइएको छ। 

सरकारी अधिकारी राजा बाबुले तमिलनाडुका समकक्षीसँग समन्वय गरी बेपत्ता माझीहरूको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेको छ।  

प्रकाशित: २० कार्तिक २०८३ १५:५१ शुक्रबार