भारत, पश्चिम बंगालको दक्षिण सोनारपुरमा तृणमूल कांग्रेसका सांसद अभिषेक बनर्जीमाथि शनिबार भएको आक्रमण प्रकरणमा चार जना पक्राउ परेका छन्।
उनी चुनावपछि हिंसामा परेका आफ्ना पार्टी कार्यकर्ताहरूलाई भेट्न गएका बेला भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरूले उनलाई घेरेर सुनियोजित रूपमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। आक्रोशित भीडले उनलाई नाराबाजी गर्दै ढुंगा, जुत्ता र अण्डा प्रहार गर्नुका साथै उनको सर्ट समेत च्यातिदिएका थिए। उक्त क्षेत्रबाट संकलन गरिएको भिडियो फुटेजको आधारमा प्रहरीले रातभर छापा मारेर आइतबार यस घटनामा संलग्न चार जना संदिग्धहरूलाई पक्राउ गरेको हो।
पश्चिम बंगालकी तत्कालीन मुख्यमन्त्री ममता बनर्जीले यस घटनालाई सामान्य झडप नभई ज्यान लिने उद्देश्यले रचिएको एउटा ठुलो राजनीतिक षड्यन्त्र भएको दाबी गरेकी छन्। उनले पत्रकार सम्मेलनमार्फत यदि अभिषेकले हेलमेट नलगाएको भए उनको घटनास्थलमै मृत्यु हुन सक्ने भन्दै आक्रमणका कारण उनको शरीरमा रगत जमेको जानकारी दिइन्। आक्रमणलगत्तै उनलाई हेलमेट लगाएर सुरक्षित रूपमा घटनास्थलबाट बाहिर निकालिएको थियो।
उनका अनुसार सांसद बनर्जीको उपचारका क्रममा अस्पताल प्रशासन र चिकित्सकहरूमाथि चरम राजनीतिक र प्रशासनिक दबाब दिइएको छ। ममताका अनुसार सुरुमा अपोलो र पछि बेले भ्यू अस्पताल भर्ना गरिएका अभिषेकको उपचार नगर्न र उनलाई चाँडै डिस्चार्ज गर्न भाजपा नेताहरू र दक्षिण कोलकाताका डीसीपीले डाक्टरहरूलाई धम्कीपूर्ण फोन गरिरहेका थिए। उनले प्रश्न उठाउँदै भनिन्, ‘यदि अभिषेकको अवस्था गम्भीर थिएन भने उनलाई किन इन्टेन्सिभ थेरापी युनिटमा राखियो र पछि किन अचानक डिस्चार्ज गरियो?’
अस्पतालमाथि लगातार दबाब बढेपछि र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अब अभिषेकको उपचार घरमै गरिने जनाइएको छ। उनको निवासमै अक्सिजन सिलिन्डर र अन्य आवश्यक चिकित्सा उपकरणहरू जडान गरिएका छन्। डाक्टरहरूको विशेष निगरानीमा उनको घरमै सघन उपचार सुरु गरिएको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ ११:५६ आइतबार