अन्तर्राष्ट्रिय

युक्रेनका पूर्वराष्ट्रपति भन्छन्: युक्रेन नेटोमा प्रवेश गर्नुहुँदैन

युक्रेनका पूर्वराष्ट्रपति भिक्टर यानुकोभिचले सोमबार रुसी सञ्चारमाध्यममा दुर्लभ सार्वजनिक अभिव्यक्ति दिँदै सत्ताबाट हटाउनुअघि किभसँग भएको वार्तामा युरोपेली युनियनले ‘दम्भ’ देखाएको आरोप लगाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी यानुकोभिच सन् २०१४ मा युक्रेनमा इयूसमर्थक प्रदर्शनविरुद्ध कडा कदम चालेपछि भाग्न बाध्य भएको थियो।

सोमबार प्रकाशित रुसी सरकारी समाचार संस्थालाई दिएको एक दुर्लभ अन्तर्वार्तामा उनले एकीकरण वार्ताका क्रममा युरोपेली युनियनले ‘अनुपयुक्त’ व्यवहार गरेको आरोप लगाएको छ।

‘उनीहरूले युक्रेनको आर्थिक स्थितिको जटिलताको बारेमा बुझेनन्,’ सरकारी समाचार संस्था आरआईए नोभोस्तीले प्रकाशित गरेको भिडियोमा यानुकोभिचले भनेको छ, ‘म यो कुरा स्पष्टसँग भन्छु–उनीहरू घमण्ड गरेका थिए।’

उनले युक्रेन नेटोमा सामेल हुनु गृहयुद्धको प्रत्यक्ष मार्ग हुने पनि बताए।

यानुकोभिचले भने, ‘म सधैं युक्रेनको नेटोमा प्रवेशको स्पष्ट र विश्वस्त विरोधी रहेको छु।’

राज्यका निकायले अन्तर्वार्ता कहिले र कहाँ रेकर्ड गरिएको थियो भन्ने बारे केही बताएको छैन।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनआक्रमण सुरु गरेयता यानुकोभिचको यो पहिलो सार्वजनिक उपस्थिति भएको स्वतन्त्र रुसी सञ्चारमाध्यमले जनाएका छन्।

यानुकोभिचको नियन्त्रणमा रहेको सुरक्षा बलले सन् २०१३–२०१४ को हिउँदेयाममा युक्रेनी ‘सम्मानित क्रान्ति’को रूपमा चिनिने इयू समर्थक सुधारको माग गर्दै मध्य किभमा डेरा जमाएर बसेका दर्जनौं प्रदर्शनकारीलाई मारेको थियो।

रक्तपातको विषयलाई लिएर उनलाई संसदले महाभियोग लगाएको थियो।

सन् २०१९ मा युक्रेनको एक अदालतले यानुकोभिचलाई देशद्रोहको दोषी ठहर गरेको थियो। उनलाई १३ वर्षको जेल सजाय सुनाइएको थियो भने सन् २०२३ मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको युक्रेनी नागरिकता खारेज गरिएको घोषणा गरेको थियो। एएफपी

प्रकाशित: १७ भाद्र २०८२ १२:१३ मंगलबार