अन्तर्राष्ट्रिय

‘रूसी एस्कर्ट’ युवतीद्वारा पूर्वयुक्रेनी कमाण्डरको ह*त्या, डस्टबिनमा धमाका गराउने महिला पक्राउ

रूसले नियन्त्रणमा लिएको क्रिमियाको सेभास्टोपोल सहरमा युक्रेनी पनडुब्बीका पूर्व कमाण्डर रोबर्ट मन्सुरोविच सागेभको बम विस्फोट गराएर हत्या भएको छ। 

उक्त सनसनीपूर्ण हत्याको आरोपमा ३२ वर्षीया मार्गरिटा रेउट नामकी एक महिलालाई रूसी सुरक्षा निकायले पक्राउ गरेको छ। युक्रेनी विशेष सेवाको योजना र निर्देशनअनुसार रेउटले स्टोलेटोव्स्की एभिन्यूस्थित एक सिँढी नजिकैको बेन्च छेउमा रहेको डस्टबिनमा विस्फोटक पदार्थ लुकाएर राखेकी थिइन्। जब सागेभ एक साथीसँग त्यहाँबाट हिँडिरहेका थिए, तब विस्फोट गराइएको सुरक्षा निकायसँग जोडिएका टेलिग्राम च्यानलहरूले जनाएका छन्। 

विस्फोट यति शक्तिशाली थियो कि त्यहाँका स्थानीय बासिन्दाले यसलाई आवासीय क्षेत्रमा भएको ड्रोन हमला ठानेका थिए। घटनामा गम्भीर घाइते भएका सागेभको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक सागेभ युक्रेनी नौसेनाका एक चर्चित अधिकारी थिए। सन् २०१४ मा रूसले क्रिमियालाई गाभ्ने क्रममा उनी युक्रेनको एक मात्र 'जापोरिज्जिया' नामक पनडुब्बीको कमाण्ड सम्हाल्दै आएका थिए। तर, त्यसबेला उनी आफ्नै देशको सेनाप्रति वफादार नभई रूसको पक्षमा गएका थिए। युक्रेनी अधिकारीहरूले उनलाई जुलाई २०२२ मा उच्च राजद्रोहको अभियोगमा आधिकारिक रूपमा सूचीकृत गरेका थिए। उनी त्यसपछि रूसी नौसेनाको ब्ल्याक सी फ्लीट अन्तर्गत पनडुब्बी ब्रिगेडको उप-कमाण्डर तथा विभिन्न युद्धपोतहरूको कमाण्ड सम्हाल्दै आएका थिए। 

युक्रेनी युद्ध अपराध अनुगमन गर्ने अनौपचारिक वेबसाइट 'माइरोटभोरेट्स' ले सागेभलाई आफ्नो सूचीमा ‘सफाया गरिएको’ (खतम गरिएको) रूपमा सूचीकृत गरेको थियो।

टेलिग्राफको रिपोर्ट अनुसार पक्राउ परेकी रूसी नागरिक मार्गरिटा रेउट यारोस्लाभ सहरमा जन्मिएकी हुन्, जो सोचीमा बस्दै आएकी थिइन्। उनी एस्कर्ट सेवा प्रदान गर्ने प्लेटफर्महरूमा सक्रिय रहने र जैविक प्रयोगशालामा समेत काम गर्ने गरेको खुल्न आएको छ। उनले यो हत्याका लागि क्रिप्टोकरेन्सीमार्फत भुक्तानी लिएको र घटनालगत्तै सोचीबाट विमानमार्फत विदेश भाग्ने योजना बनाएकी थिइन्।

यसअघि सन् २०२५ को मध्यतिर पनि उनी रूसी सेनाको आलोचना गरेको आरोपमा प्रहरीको फन्दामा परेकी थिइन्। समाराबाट एडलरतर्फ जाँदै गरेको रेलमा रोस्तोभ क्षेत्रको 'लिखाया' रेल्वे स्टेसनमा युक्रेनी ड्रोन आक्रमणको समाचार सुनेपछि उनले चर्को स्वरमा रूसी सेनाको अपमान गर्दै नाराबाजी गरेकी थिइन्। त्यसबापत उनलाई जरिवाना र केही दिन हिरासतमा समेत राखिएको थियो। पछि सामाजिक सञ्जालमा समेत आफू रूसी भएकोमा लाज लाग्ने अभिव्यक्ति दिँदै आएकी थिइन्। 

अनुसन्धानकर्ताका अनुसार पक्राउ परेकी रेउटले युक्रेनी विशेष सेवाको आदेशमा काम गरेको स्वीकारेकी छन्। उनलाई सोधपुछका क्रममा अधिकारीहरूले हत्यामा पछुतो छ कि छैन भनी सोध्दा उनले ठाडै ‘छैन’ भनेर जवाफ दिएकी छन्। 

पछिल्लो समय रूसको युद्ध प्रयासलाई प्रत्यक्ष सहयोग गर्ने उच्च पदस्थ सैन्य अधिकारी र कमाण्डरहरूमाथि युक्रेनी पक्षबाट 'स्पट अपरेसन' तथा लक्षित आक्रमणहरू तीव्र पारिएका छन्। 

सागेभको हत्या हुनुभन्दा केही दिनअघि मात्रै रूसी ड्रोन निर्माता कम्पनीका संस्थापक भ्लादिमिर ताकाचुकमाथि कार बम हमला भएको थियो भने मस्कोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा केही व्यक्तिको ज्यान गएको थियो। 

त्यसैगरी, सेभास्टोपोलमै भएको छुट्टै युक्रेनी आक्रमणमा परी आपतकालीन सेवाका पाँच कर्मचारीसमेत मारिएका थिए। रूसले कब्जा गरेको भूभागमा भइरहेका यस्ता शृङ्खलाबद्ध आक्रमणले रूसी सुरक्षा संयन्त्रमाथि ठुलो चुनौती थपिदिएको छ। एजेन्सीको सहयोगमा 

प्रकाशित: ३१ श्रावण २०८३ १७:४५ आइतबार