अन्तर्राष्ट्रिय

स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल सारिए पूर्वप्रधानमन्त्री इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य उपचारका लागि जेलबाट एक निजी अस्पतालमा लगिएको छ।

बिहीबार मध्यरातमा उनलाई आदियाला जेलबाट इस्लामाबादस्थित शिफा अन्तर्राष्ट्रिय अस्पतालमा सारिएको उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले जनाएको छ। सर्वोच्च अदालतले स्वास्थ्य परीक्षणका लागि खानलाई अस्पताल लैजान दिएको आदेशको केही दिनपछि यो कदम चालिएको हो। अदालतले खानको स्वास्थ्य अवस्था बुझ्न विशेषज्ञ चिकित्सक र उनका व्यक्तिगत चिकित्सक फैसल सुल्तान सम्मिलित मेडिकल बोर्ड गठन गर्नसमेत निर्देशन दिएको थियो।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

यसअघि संसदीय मामिलामन्त्री तारिक फजल चौधरीले सरकार सर्वोच्च अदालतको आदेश पालना गर्न प्रतिबद्ध रहेको बताएका थिए। मन्त्री चौधरीले ‘सरकारले अदालतको फैसलाको पूर्ण पालना गर्नेछ र स्पष्टीकरणका लागि गरिएको अनुरोध निर्णयलाई अवज्ञा गर्ने वा कार्यान्वयनमा ढिलाइ गर्ने उद्देश्यले गरिएको होइन’ भनेका थिए। सो अवसरमा उनले थप स्पष्ट पार्दै यदि सरकारी सुविधामा पर्याप्त हेरचाह सम्भव नभएमा सरकारले उनको उपचार विदेशमा गर्ने विषयमा पनि विचार गर्न सक्ने संकेत गरे।

खानलाई अस्पतालमा कति समय राखिनेछ वा जाँचपछि पुन: जेल नै फर्काइनेछ भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन। यद्यपि खानका वकिल उजैर भण्डारीले उनी कम्तीमा सेप्टेम्बर १६ मा हुने अर्को अदालती सुनुवाइ नभएसम्म अस्पतालमै रहने अपेक्षा गरिएको बताएका छन्।

सन् २०२३ देखि भ्रष्टाचारका विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका ७३ वर्षीय खानको स्वास्थ्य अवस्थालाई लिएर उनका परिवार र पार्टीले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन्। यसअघि फेब्रुअरी महिनामा उनको दाहिने आँखाको दृष्टिमा समस्या देखिएको परिवारले दाबी गरे पनि सरकारले त्यसलाई अस्वीकार गर्दै आएको थियो।

खान सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री पदबाट हटेका थिए। त्यसयता उनलाई विभिन्न मुद्दामा दोषी ठहर गर्दै जेल राखिएको छ भने उनले आफूमाथिका आरोप राजनीतिक प्रेरित भएको बताउँदै आएका छन्।

प्रकाशित: ५ भाद्र २०८३ ०६:३० शुक्रबार