फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले आपराधिक षड्यन्त्रको आरोपमा पाँच वर्ष जेल सजाय सुनाएको छ।
बिहीबार उनलाई एक लाख युरो जरिवाना र पाँच वर्षसम्म सरकारी पद धारण गर्न प्रतिबन्ध लगाइएको हो। यो मुद्दा सन् २००७ को राष्ट्रपति चुनावमा विजय सुनिश्चित गर्न तत्कालीन लिबियाली तानाशाह मुअम्मर गद्दाफीबाट गैरकानूनी आर्थिक सहयोग लिएकोसँग सम्बन्धित छ।
अदालतले सार्कोजीलाई भ्रष्टाचारजस्ता अन्य आरोपबाट मुक्त गरेको छ। ७० वर्षीय सार्कोजीले फैसला अवैध भएको भन्दै उच्च अदालतमा पुनरावेदन गर्ने बताए। उनी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति भएका थिए। उनकी पत्नी कार्ला ब्रुनी प्रसिद्ध गायिका र मोडेल हुन्।
अदालतले सार्कोजीले सन् २००७ को चुनावी अभियानका लागि लिबियाबाट पैसा लिन सहयोगीहरूसँग षड्यन्त्र गरेको ठहर गरेको छ। यद्यपि यो पैसा अभियानमा प्रयोग भएको प्रमाणित भएन। तैपनि अदालतले यो षड्यन्त्रले जनताको विश्वास कमजोर बनाएको भन्दै गम्भीर अपराध ठहर गरेको छ। आधुनिक फ्रान्सेली इतिहासमा पूर्वराष्ट्रपतिलाई जेल सजाय भएको यो पहिलो घटना हो।
सार्कोजीले गद्दाफी परिवारले बदला लिन यो आरोप लगाएको दाबी गरे। उनले भने, ‘यो मुद्दा राजनीतिक षड्यन्त्र हो र गद्दाफी परिवारले बदला लिन यी आरोप लगाएको हो। यदि म जेलमा सुत्नुपर्यो भने, म शिर ठाडो गरेर सुत्नेछु।’ उनले सन् २०११ मा गद्दाफीविरुद्ध सैन्य हस्तक्षेपको वकालत गरेका थिए, जसले गद्दाफीको पतन अनि हत्या भएको थियो।
सार्कोजीलाई तुरुन्त जेल नपठाई एक महिनाका लागि हिरासतमा राख्न आदेश भएको छ। यस मुद्दामा तीन पूर्वमन्त्रीसहित ११ जनालाई अभियुक्त बनाइएको छ। पूर्वगृहमन्त्री क्लाउड गुएन्टलाई छ वर्ष जेल सजाय सुनाइएको छ। तर स्वास्थ्य अवस्थाका कारणले उनले जेल भोग्न नपर्ने भएको छ। पूर्वमन्त्री ब्रिस होर्टेफ्यूलाई दुई वर्षको जेल सजाय सुनाइएको छ, जुन उनले इलेक्ट्रोनिक ट्याग लगाएर घरमै बिताउन सक्छन्।
सार्कोजीमाथि साक्षीलाई दबाब दिएको आरोप पनि लागेको छ। मुख्य साक्षी लेबनानी व्यापारी जियाद ताकिद्दीनले पहिले लिबियाबाट नगदले भरिएका सुटकेस फ्रान्स ल्याएको बताएका थिए। पछि उनले बयान फिर्ता लिए, जसले सार्कोजी र उनकी पत्नीविरुद्ध साक्षीलाई दबाब दिएको मुद्दा चलेको थियो। ताकिद्दीनको दुई दिनअघि बेरुतमा मृत्यु भएको थियो।
सार्कोजी यसअघि पनि समस्यामा परेका थिए। सन् २०२१ मा उनले न्यायाधीशलाई घुस दिने प्रयास गरेको आरोपमा एक वर्षको जेल सजाय पाएका थिए, जुन उनले इलेक्ट्रोनिक ट्याग लगाएर बिताए। सन् २०२४ मा २०१२ को चुनावमा अवैध खर्च गरेको आरोपमा छ महिनाको जेल सजाय सुनाइएको थियो। त्यही वर्ष उनलाई फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार, लिजन अफ अनरबाट पनि वञ्चित गरिएको थियो। एजेन्सी
प्रकाशित: १० आश्विन २०८२ १२:४५ शुक्रबार