अन्तर्राष्ट्रिय

पप स्टार पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्रीकाे ट्रुडोको गोप्य डिनर, डेटिङको चर्चा

क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी पप स्टार केटी पेरी सोमबार मोन्ट्रियलको ले भियालोन रेस्टुरेन्टमा सँगै डिनर गरिरहेको देखिए। 

भाइरल भिडियोमा उनीहरू एकअर्कासँग गहिरो कुराकानीमा व्यस्त देखिन्छन्, जसले डेटिङको अनुमानलाई बल पुगेको छ। रेस्टुरेन्टको शान्त कुनामा बसेर उनीहरूले लब्स्टर र ककटेलसहितका परिकारको आनन्द लिइरहेका छन्।

खानापछि, रेस्टुरेन्टका मुख्य सेफ ड्यानी स्माइल्सले उनीहरूलाई स्वागत गरे। दुवैले भान्सामा गएर कर्मचारीलाई व्यक्तिगत रूपमा धन्यवाद दिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरू करिब दुई घण्टा मिलनसार भएर बसेका थिए। तर कुनै घनिष्ठ व्यवहार देखिएन। सुरक्षाकर्मीहरूले नजिकैबाट निगरानी गरेका थिए।

पेरी हाल आफ्नो ‘लाइफटाइम्स टुर’का लागि क्यानडामा छिन्, जसमा उनका विनिपेग, ओटावा, मोन्ट्रियल र क्युबेक सिटीमा प्रस्तुति रहनेछन्। उनले जुलाई २०२५ मा अभिनेता ओर्लान्डो ब्लूमसँग सम्बन्धविच्छेद गरेकी थिइन्। तर उनीहरू छोरी डेजीलाई सँगै हुर्काइरहेका छन्। पेरीको पहिलो विवाह २०१० मा रसेल ब्रान्डसँग भएको थियो, जुन १४ महिनामा टुटेको थियो।

ट्रुडोले २०२३ मा सोफी ग्रेगोइरसँग १८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेका थिए। उनीहरूका तीन सन्तान छन्, र दुवैले सौहार्दपूर्ण सम्बन्ध कायम राखेका छन्। यो भेटले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। एजेन्सी

प्रकाशित: १४ श्रावण २०८२ १८:०६ बुधबार