बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको भिडियो रेकर्ड गर्ने पूर्व वायुसेना अधिकारी केएम तौसिफ सौरीको मृत्यु भएको छ। उनको शव बिहीबार ढाकास्थित तुराग नदीमा फेला परेको हो।
२८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी गत अक्टोबर २७ देखि बेपत्ता थिए। परिवारले हसिनाले देश छाडेको भिडियो सार्वजनिक गरेका कारण उनलाई मानसिक यातना दिइएको र हत्या गरिएको आरोप लगाएको छ।
अधिकारीहरूका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै उनको मृत्युको वास्तविक कारण खुल्नेछ। हाल उनको मृत्यु डुबेर भएको हो, आत्महत्या गरेका हुन् वा हत्या गरिएको हो भन्ने स्पष्ट भइसकेको छैन।
खल्तीमा भेटिएको आइफोनबाट शवको पहिचान
बंगलादेशी अखबार द डेली स्टारका अनुसार सौरीको शव राजाबारी घाटनजिक फेला परेको थियो। उनले सेतो पाइन्ट र कालो सर्ट लगाएका थिए। सुरुमा प्रहरीले शवको पहिचान गर्न सकेको थिएन।
उनको खल्तीमा भेटिएको आइफोनको सहयोगमा पहिचान खुलेको थियो। शवसँगै एउटा हातघडी पनि फेला परेको थियो। त्यसपछि शवलाई पोस्टमार्टमका लागि ढाकास्थित शहीद सुहरावर्दी मेडिकल कलेज अस्पताल पठाइएको थियो।
'जासुसहरूले भाइको पिछा गरिरहेका थिए'
सौरीको मृत्यु भएपछि उनकी चचेरी बहिनी मोशफेका जहाँले फेसबुक पोस्टमार्फत हत्या भएको आरोप लगाएकी छन्। बंगलामा लेखिएको पोस्टमा उनले भनेकी छन्, ‘मेरो भाइको हत्या गरिएको हो। उसको अपराध के थियो? हसिना भागेको भिडियो सार्वजनिक गर्नु?’
जहाँले हसिना देश छाडेको भिडियो सौरीले नभई उनका एक सहकर्मीले रेकर्ड गरेको दाबीसमेत गरेकी छन्। उनले वायुसेनाबाट अवकाश दिइएपछि पनि सौरीलाई मानसिक यातना दिने क्रम जारी रहेको आरोप लगाएकी छन्।
उनका अनुसार जासुसहरूले लगातार सौरीको पिछा गरिरहेका थिए। चचेरी बहिनीले सौरीको स्वास्थ्य अवस्था राम्रो रहेको र मृत्यु हुनुअघि उनलाई घरबाट बाहिर बोलाइएको दाबीसमेत गरेकी छन्।
किन हटाइएका थिए वायुसेनाबाट?
सौरीलाई वायुसेनाको सेवाबाट किन हटाइएको थियो भन्ने विषयमा पनि प्रश्न उठेका छन्। बंगलादेशी वेबसाइट ‘जागो न्युज’का अनुसार सैन्य जनसम्पर्क निर्देशनालयले सन् २०२५ अगस्ट ४ मा उनको सेवाबाट बिदाइबारे वक्तव्य जारी गरेको थियो। उक्त वक्तव्यमा सौरीलाई नियमअनुसार अवकाश दिइएको र उनीमाथि कुनै आरोप नरहेको उल्लेख थियो।
यद्यपि, केही सञ्चारमाध्यमका समाचार तथा सामाजिक सञ्जालमा उनको अवकाशलाई हसिनाले देश छाडेको भिडियोसँग जोडेर चर्चा गरिएको छ। उनकी चचेरी बहिनीले पनि वायुसेनाको सेवा छाड्नुअघि र त्यसपछि सौरीलाई दुःख दिइएको आरोप लगाएकी छन्।
‘जागो न्युज’का अनुसार उत्तरा प्रहरी वृत्तका अधिकारी शाहिनुर जमानले बिहीबारसम्म सौरीको मृत्युबारे प्रहरीमा कुनै उजुरी दर्ता नभएको बताएका थिए।
हाल उनको पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ। अनुसन्धानपछि मात्रै सौरीको मृत्युको कारण खुल्नेछ। अहिलेसम्म उनको हत्या भएको पुष्टि भएको छैन भने उनको मृत्यु र हसिनाले देश छाडेको भिडियोबीच कुनै सम्बन्ध रहेको तथ्य पनि सार्वजनिक भएको छैन।
प्रकाशित: १३ कार्तिक २०८३ १३:२४ शुक्रबार



