अन्तर्राष्ट्रिय

पञ्जाबमा बाढीः ३७ जनाको मृत्यु, १४ सय गाउँ डुबानमा

दुई दिनदेखिको भारी वर्षाका कारण पञ्जाबमा बाढीबाट १४०० भन्दा बढी गाउँ प्रभावित भएका छन् भने ४.५ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। 

उक्त बाढीमा करिब ३७ जनाले ज्यान गुमाएका छन् भने ३.५ लाख एकड जमिनको बालीनाली पानीमा डुबेको छ। राज्य सरकारले ७१ करोड रुपैयाँको कोष जारी गरेको छ। पञ्जाबमा अवस्था अझ बिग्रन सक्ने भन्दै अझ दुई दिनसम्म भारी वर्षा हुने चेतावनी दिइएको छ। बाढीले अत्याधिक क्षति पुर्‍याउन सक्ने भन्दै पठानकोटमा रहेको रञ्जित सागर बाँधका सबै सातै ढोका खोल्नु पर्‍यो स्थिति आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमा उल्लेख गरिएको छ ।

हिमाचल र पञ्जाबमा निरन्तर वर्षाका कारण बाढीको अवस्था झनै खराब भएको छ। पञ्जाबका सबै २३ जिल्लाका १४०० भन्दा बढी गाउँहरू बाढीबाट प्रभावित भएसँगै पञ्जाब सरकारले सम्पूर्ण राज्यलाई प्रकोपग्रस्त घोषणा गरेको छ।

बाढीले प्रभावित सेवाहरू पुनस्र्थापित गर्न सबै विभागहरूलाई युद्ध स्तरमा काम गर्न आदेश दिइएको छ। सबै विभागका कर्मचारीहरूको बिदा रद्द गरिएको छ भने मुख्य सचिव केएपी सिन्हाले सबै जिल्ला मजिस्ट्रेट र विभागहरूलाई राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।   

सन् १९८८, ९३ पछि सन् २०२५ मा पञ्जाबमा यस्तो अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा उल्लेख गरिएको छ । रणजीत सागर बाँधमा काम गर्ने कामदारहरूका अनुसार उनीहरूले पहिलो पटक यस्तो बाढी देखेका छन्। बाँध निर्माण भएदेखि पहिलो पटक सबै सातै ढोका खोल्नु परेकोको उनीहरूको दाबी छ । बुधबार बाँधमा पानीको सतह ५२६.९७ मिटर पुगेको थियो, जुन खतराको चिन्हभन्दा एक मिटर तल हो ।

प्रकाशित: १९ भाद्र २०८२ १२:३० बिहीबार