अन्तर्राष्ट्रिय

एसियामा बाढी र चक्रवातको कहर : नौ सय बढीको मृत्यु, ५० लाख प्रभावित

एसियाभरि बाढी र आँधीका कारण नौ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। बाढी, चक्रवात र मुसलधारे वर्षाले करिब ५० लाख मानिसहरूलाई प्रभावित भएका छन्। 

श्रीलंकामा चक्रवात दिट्वाबाट मृत्यु हुनेको संख्या ३३४ पुगेको छ भने १९१ जना बेपत्ता छन्। भारी वर्षा र बाढीले करिब १० लाख मानिस प्रभावित भएका छन्। लगभग दुई लाख विस्थापित मानिस १,३०० भन्दा बढी आश्रयस्थलमा बस्न बाध्य छन्।

त्यस्तै, इन्डोनेसिया, थाइल्याण्ड र मलेसियामा पनि बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको छ। इन्डोनेसियामा ४४२ को मृत्यु भएको छ भने थाइल्याण्डमा १७० र मलेसियामा तीन जनाको मृत्यु भएको छ। करिब ४० लाख मानिस प्रभावित भएका छन्।

इन्डोनेसियाको सुमात्रा क्षेत्रमा बाढीले सडक, सञ्चार र बिजुली अवरुद्ध भएको छ। खाना र पानीको अभावले केही बासिन्दाले पसलहरूमा चोरी गर्न थालेका छन्। प्रहरी प्रवक्ता फेरी वालिन्टुकनले भने, ‘लजिस्टिकल सहायता आइपुग्नु अघि नै लुटपाट भएको थियो।’

कोलम्बोको उपनगर केलानियामा एक बासिन्दाले बताइन्, ‘मेरी बहिनी र म दुई दिनसम्म हाम्रा चार बच्चाहरूसहित घरको माथिल्लो तल्लामा फसेका थियौँ। हामीसँग बिस्कुट र पानी मात्र बाँकी थियो।’

यी देशहरूमा उद्धार र राहत कार्यमा प्रहरी, सेना र हेलिकप्टर परिचालन गरिएको छ। तर मौसमको अवरोध र पहुँचको समस्या भएकाले सहायता वितरणमा कठिनाइ भएको छ। 

आँधी दक्षिणी भारततर्फ सर्न थालेसँगै बाढीको पानी केही कम हुने अपेक्षा गरिएको छ। श्रीलंकाले आपतकाल घोषणा गरेर अन्तर्राष्ट्रिय सहयोग मागेको छ। थाइल्याण्डको दक्षिणी क्षेत्रमा एक दिनमा ३३५ मिलिमिटर वर्षा भएको छ, जुन ३०० वर्षको रेकर्ड हो।

उता, स्टारलिंकले डिसेम्बरको अन्त्यसम्म इन्डोनेसिया र श्रीलंकाका बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: १५ मंसिर २०८२ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App