युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु भएको छ भने राजधानी किएभमा कम्तीमा २० जना घाइते भएका छन्।
आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै देशको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एकमा पनि क्षति पुगेको छ।
युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार खार्किभमा पहिलो आक्रमणबाट लागेको आगो निभाउने क्रममा पुगेका उद्धारकर्मीहरू दोस्रो रुसी आक्रमणको निशानामा परेका थिए। घटनामा कम्तीमा पाँच अन्य आपतकालीन सेवाकर्मी घाइते भएका छन्।
राजधानी किएभमा रातभर शक्तिशाली विस्फोटहरूको आवाज सुनिएको थियो। ब्यालिस्टिक क्षेप्यास्त्र र शाहेद ड्रोनमार्फत गरिएको आक्रमणका कारण धेरै बासिन्दाले भूमिगत आश्रयस्थलमा शरण लिएका थिए। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए।
‘किएभ मुख्य निशानामा परेको छ। नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ’, गृहमन्त्री क्लाइमेन्कोले भने।
किएभ सहर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोका अनुसार एक बालकसहित कम्तीमा २० जनाले उपचारका लागि स्वास्थ्य सेवा लिएका छन्। उनले शेभचेन्किभ्स्की जिल्लामा ३० मिनेटभन्दा कम समयमा पाँचवटा आक्रमण भएको जानकारी दिए।
प्रभावित संरचनामध्ये २५ तले आवासीय भवन, एक बजार र एक किराना पसल रहेका छन्। ओबोलोन्स्की जिल्लामा भने नौ तले आवासीय भवनमा प्रत्यक्ष प्रहार भएको बताइएको छ।
तकाचेन्कोले रुसले जानाजानी आवासीय भवनहरूलाई निशाना बनाएको आरोप लगाए। ‘यो उनीहरूको सचेत निर्णय हो’, उनले भने।
आक्रमणबाट किएभ–पेचेस्र्क लाभ्रा मठ परिसरमा पनि ठूलो क्षति पुगेको छ। उक्त परिसरमा आगलागी भएको तकाचेन्कोले जानकारी दिँदै रुसले ‘विश्वकै प्रमुख क्रिश्चियन तीर्थस्थलमध्ये एकको केन्द्रमा प्रहार गरेको’ आरोप लगाए।
युक्रेनको अर्थोडक्स चर्चका प्रमुख मेट्रोपोलिटन एपिफेनियसका अनुसार रातभरको आक्रमणका क्रममा डोर्मिशन क्याथेड्रलको छानामा आगलागी भएको थियो। उनले यस घटनालाई ‘मानवता, इतिहास र ईसाई धर्मविरुद्धको अर्को रुसी अपराध’ भन्दै निन्दा गरे।
‘गुफाहरूको मठ’ पनि भनिने किएभ–पेचेस्र्क लाभ्रा ११औँ देखि १९औँ शताब्दीसम्म निर्माण गरिएका मठ, चर्च र भूमिगत गुफाहरूको विशाल धार्मिक परिसर हो। यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो।
डनिप्रो नदीको दायाँ किनारमा अवस्थित यो ऐतिहासिक धार्मिक स्थल शताब्दीयौँ देखि तीर्थयात्रीहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ।
प्रकाशित: १ असार २०८३ १७:०६ सोमबार