अन्तर्राष्ट्रिय

ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोर्नुेले देखाएका पाँच कारण

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले जित हासिल गरेको छ। उसले अमेरिकी कंग्रेसमा बहुमतसमेत प्राप्त गरेको छ।

सामान्यतया मध्यावधि चुनावमा सत्तारूढ राष्ट्रपतिको पार्टीको प्रदर्शन कमजोर हुने गर्छ। तर यसपटक रिपब्लिकन पार्टीले बेहोरेको हारलाई फरक दृष्टिकोणबाट हेरिएको छ।

आउनुहोस्, रिपब्लिकन पार्टीको हारका कारणबारे बुझौँ।

१. बढ्दो महँगी

अमेरिकी मतदाता दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यबाट प्रभावित छन्। यस चुनावमा उनीहरूको असन्तुष्टि स्पष्ट रूपमा देखिएको छ। उत्तरी क्यारोलिनाकी एक मतदाताले चुनावअघि बीबीसी न्युजसँग भनेकी थिइन्, ‘पेट्रोलको मूल्य र किराना सामान, सबै कुरा महँगो भइरहेको छ।’

उनले यसपटक रिपब्लिकन पार्टीको सट्टा डेमोक्र्याटिक पार्टीलाई मतदान गरेको बताएकी थिइन्।

तेल र ग्यासको मूल्यमा भएको वृद्धिका कारण पछिल्लो एक वर्षमा महँगी ३.७ प्रतिशतले बढेको छ। सरकारी तथ्यांकअनुसार अक्टोबरको सुरुवातमा अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य उच्चतम बिन्दुभन्दा थोरै मात्र कम थियो। सेप्टेम्बरमा यसको मूल्य प्रतिग्यालन ६.५२ डलर थियो।

मतदाता सर्वेक्षणका तथ्यांकअनुसार करिब १० मध्ये आठ अर्थात् ७९ प्रतिशत मतदाताले महँगीका कारण आफू र आफ्नो परिवारले गत वर्ष विभिन्न समस्या भोग्नुपरेको बताएका छन्।

सर्वेक्षणमा सहभागी १० मध्ये छभन्दा बढीले यसका लागि ट्रम्पलाई जिम्मेवार ठहर गरेका छन्। उनीहरूको भनाइमा सामान्यभन्दा बढी मूल्य हुनुमा राष्ट्रपतिको नीतिको भूमिका छ।

२. इरानसँगको युद्ध

बढ्दो महँगीको एउटा प्रमुख कारण इरानसँगको युद्ध हो। अमेरिका र इजरायलले फेब्रुअरीमा यो युद्ध सुरु गरेका थिए। त्यसपछि इरानले जवाफी कारबाहीस्वरूप होर्मुज जलडमरूमध्य बन्द गरिदियो। यसले इन्धनको मूल्य तीव्र रूपमा बढायो। यो समुद्री मार्ग विश्वभर तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

त्यसयता अमेरिकी उपभोक्ताले पेट्रोल पम्पमा यसको मूल्य चुकाइरहेका छन्।

युद्ध गर्ने निर्णय अधिकांश अमेरिकीलाई मन परेको छैन। ट्रम्पका ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानका समर्थकलाई पनि यो निर्णय अधुरो वाचाजस्तै लागेको छ। ‘अमेरिका फर्स्ट’ अभियानका क्रममा ट्रम्पले भविष्यमा कुनै युद्ध नगर्ने वाचा गरेका थिए। तर त्यसविपरीत युद्ध सुरु भयो।

एक मतदाता सर्वेक्षणमा करिब १० मध्ये छ अर्थात् ६३ प्रतिशतले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही गर्ने निर्णय गलत भएको बताएका छन्। त्यस्तै, तीन चौथाइ अर्थात् ७४ प्रतिशत मतदाताले यो विवाद कंग्रेसका लागि आफूले गर्ने मतदानमा महत्त्वपूर्ण वा ठूलो कारक बनेको बताएका छन्।

मतदानको भोलिपल्ट बिहान ट्रम्पले चुनावी हारमा युद्धको ठूलो भूमिका रहेको स्वीकार गरेका थिए। तर फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्न हस्तक्षेप गर्नुको विकल्प आफूसँग नरहेको जिकिर गरेका थिए।

३. डेमोक्र्याटहरूको चुनावी रणनीति

डेमोक्र्याटिक पार्टीको पक्षमा देखिएको चुनावी लहरको आकार र विस्तार केही प्रभावशाली उम्मेदवारका कारण सम्भव भएको हो। रिपब्लिकन पार्टीको बलियो पकड रहेका क्षेत्रमा समेत डेमोक्र्याटिक उम्मेदवारहरू इमानदार र विश्वासयोग्य देखिए।

उनीहरूले बढ्दो महँगी र सबै नागरिकको स्वास्थ्य सेवामा पहुँचजस्ता मुद्दालाई प्राथमिकतामा राखे।

टेक्सासका जेम्स तालारिको र कन्सासका पादरी एडम ह्यामिल्टनले जनतासँग प्रत्यक्ष जोडिएका मुद्दा उठाए। ती मुद्दाले दुवै राज्यका मतदाताको मन छोयो।

दक्षिण क्यारोलिनामा डेमोक्र्याट एनी एन्ड्र्युजले अप्रत्याशित जित हासिल गरिन्। उनी यसअघि बालरोग विशेषज्ञ थिइन्। स्वास्थ्य सेवालाई सस्तो बनाउने उनको प्रतिबद्धताले मतदाताको मन जित्यो। अमेरिकामा धेरै मानिसले विद्यमान स्वास्थ्य सेवा प्रणालीलाई गलत मान्दै आएका छन्।

मिशिगनमा पूर्वसार्वजनिक स्वास्थ्य अधिकारी अब्दुल अल–सईदले जित हासिल गर्दै उक्त सिट डेमोक्र्याटिक पार्टीकै पक्षमा कायम राखे। उनले ‘राजनीतिबाट पैसा बाहिर निकाल्ने’ विषय उठाएका थिए।

जर्जियामा डेमोक्र्याटिक सिनेटर जोन ओसोफ पुनः निर्वाचित भए। उनले महँगी र भ्रष्टाचारलाई आफ्नो चुनावी अभियानको मुख्य मुद्दा बनाएका थिए। ट्रम्पले यस राज्यमा दुईपटक जित हासिल गरिसकेका छन्। ३९ वर्षीय ओसोफको सहज जितसँगै सन् २०२८ को राष्ट्रपतीय चुनावमा उनको उम्मेदवारीबारे चर्चा थप चुलिएको छ।

यहाँसम्म कि स्वयं ट्रम्पले पनि डेमोक्र्याटहरूको प्रशंसा गरेका छन्। उनले फक्स न्युजसँगको कुराकानीमा डेमोक्र्याटहरूले ‘राम्रो काम गरेको’ बताएका थिए।

यसको विपरीत टेक्सासका केन प्याक्सटनजस्ता केही रिपब्लिकन उम्मेदवारको आलोचना भयो। उनीहरूको चुनावी प्रचारमा मतदाताका चिन्तालाई पर्याप्त ध्यान नदिइएको आरोप लागेको थियो।

४. ट्रम्पको घट्दो लोकप्रियता पार्टीका लागि भारी

मतदाताहरू सबैभन्दा बढी असन्तुष्ट रहेका दुई विषय—बढ्दो मूल्यवृद्धि र इरान युद्ध—प्रत्यक्ष रूपमा राष्ट्रपति ट्रम्पसँग जोडिएका थिए।

रिपब्लिकन मतदातामाझ पनि उनको लोकप्रियता घटेको थियो। यसको असर सन् २०२४ मा ट्रम्पले जितेका राज्यहरूमा समेत देखियो। ती ठाउँमा पनि रिपब्लिकन पार्टीले राम्रो प्रदर्शन गर्न सकेन।

आफ्ना समर्थकलाई आफ्नो पक्षमा पार्न ट्रम्पले मतदातालाई आफू स्वयं चुनावी उम्मेदवार भएको ठानेर मतदान गर्न आग्रह गरेका थिए।

तर अमेरिकी राजनीतिमा एक दशकभन्दा बढी समयदेखि केन्द्रमा रहँदै आएका ट्रम्पको छवि कमजोर हुँदै गएको संकेतका रूपमा केहीले यी चुनावी नतिजालाई हेरेका छन्।

जनताको असन्तुष्टि बढिरहेका बेला रिपब्लिकन पार्टीको चुनावी प्रचारको केन्द्रमा ट्रम्पलाई राख्नु जोखिमपूर्ण थियो। अन्ततः यो रणनीति उल्टो परेको देखिन्छ।

मतदानअघिका महिनाहरूमा गरिएका सर्वेक्षणले पनि धेरै अमेरिकीले ट्रम्पले बढ्दो मूल्यवृद्धिबारे आफ्नो चिन्तालाई सम्बोधन गरून् भन्ने चाहेको संकेत गरेका थिए।

५. हिस्पानिक र अश्वेत मतदाताको बदलिँदो रुझान

दुई वर्षअघि भएको आम चुनावमा केही हिस्पानिक र अश्वेत मतदाताको झुकाव रिपब्लिकन पार्टीतर्फ बढेको थियो। त्यसले ट्रम्पलाई निर्णायक जित हासिल गर्न सहयोग गरेको थियो। तर यसपटकको मध्यावधि चुनावमा भने अवस्था उल्टो देखिएको छ।

टेक्सास–मेक्सिको सीमासँग जोडिएका अधिकांश हिस्पानिक जनसंख्या रहेका जिल्लामा डेमोक्र्याटहरूले प्रतिनिधिसभाका तीनवटै सिट जितेका छन्।

‘न्युयोर्क टाइम्स’को एक विश्लेषणअनुसार सन् २०२४ को राष्ट्रपतीय चुनावको तुलनामा बहुसंख्यक हिस्पानिक जनसंख्या भएका काउन्टीहरूमा रिपब्लिकन सिनेट उम्मेदवारविरुद्ध २२ प्रतिशतभन्दा बढीको मतान्तर देखिएको छ।

रिपोर्टर जेफ एडेल्सनका अनुसार देशका अन्य कुनै पनि ठूलो समुदायको तुलनामा यो परिवर्तन निकै ठूलो हो।

यो परिवर्तनको एउटा कारण आप्रवासन नीतिप्रतिको असन्तुष्टि हो। प्यु रिसर्च सेन्टरका अनुसार ५६ प्रतिशत अमेरिकीको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)प्रति नकारात्मक धारणा छ।

अश्वेत समुदायको जनसंख्या बढी भएका क्षेत्रमा पनि सिनेट चुनावमा मतदाताहरूले डेमोक्र्याटिक उम्मेदवारलाई उल्लेख्य समर्थन गरेका छन्।

मिसिसिपीमा सिनेट चुनाव निकै प्रतिस्पर्धात्मक बनेको छ। त्यहाँ अमेरिकाका अन्य कुनै पनि राज्यको तुलनामा सबैभन्दा बढी अर्थात् करिब ३७ प्रतिशत अश्वेत मतदाता छन्।

यदि स्कट कोलम चुनाव जित्छन् भने सन् १९८२ पछि मिसिसिपीबाट सिनेटमा निर्वाचित हुने उनी पहिलो डेमोक्र्याट हुनेछन्। बीबीसी हिन्दी

प्रकाशित: १९ कार्तिक २०८३ ०८:३९ बिहीबार