अन्तर्राष्ट्रिय

पटाका बनाउने क्रममा भीषण विस्फोट, पाँच जनाको मृ*त्यु

भारतको बिहार राज्यस्थित सिवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने क्रममा एक घरमा भीषण विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ।

सिवानका प्रहरी अधीक्षक (एसपी) भारत सोनीका अनुसार मेडिकल टोलीको मूल्याङ्कनपछि सिभिल सर्जनले पाँचवटा शव फेला परेको पुष्टि गरेका अुन्।

घटना हुँदा घरमा सातदेखि आठ जना उपस्थित रहेको बताइएको छ। तीमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुईदेखि तीन जना घरबाहिर रहेको जानकारी आएको छ। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

सिवानका एसपी भारत सोनीले फरेन्सिक साइन्स ल्याब (एफएसएल) को टोली घटनास्थलमा पुगिसकेको बताएका छन्। उनका अनुसार आगो पूर्ण रूपमा निभाइएको छ र घरको सम्पूर्ण भागमा खोजतलास भइरहेको छ।

बम पत्ता लगाउने तथा निष्क्रिय पार्ने टोली पनि घटनास्थलमा खटिएको उनले बताए। क्षेत्रको निरीक्षणका लागि ड्रोन प्रयोग भइरहेको छ। प्रहरीले घटनाबारे प्राथमिकी (एफआईआर) दर्ता गरिरहेको र अनुसन्धानपछि विस्फोटको वास्तविक कारण पत्ता लाग्ने उनले बताएका छन्।

उनका अनुसार सिभिल सर्जनको टोलीले भग्नावशेषमा अर्को एउटा शव पनि हुन सक्ने आशङ्का गरेको छ।

घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका प्रमुख र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ। प्रहरीले घटनासम्बन्धी एफआईआर दर्ता गरिसकेको छ।

विस्फोटको कारण पत्ता लगाउन विशेष प्रहरी टोली गठन गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ ०८:३६ शनिबार