इजरायलले क्यास्पियन सागरस्थित इरानी नौसेना चौकीमा आक्रमण गरेको दाबी गरिएको छ। गत बुधबार (१८ मार्च) रुस र इरानबिच गोलाबारुद, ड्रोन र अन्य हतियार तस्करीका लागि प्रयोग हुने प्रमुख आपूर्ति लाइनलाई लक्षित गरी यो हमला गरिएको द वाल स्ट्रिट जर्नलले जानकारी दिएको छ।
विश्वकै सबैभन्दा ठूलो आन्तरिक समुद्र मानिने क्यास्पियनमा इजरायलले गरेको यो पहिलो आक्रमण हो। अमेरिकी नौसेनाको पहुँचभन्दा बाहिर रहेको यो समुद्री मार्ग इरान र रुसी बन्दरगाह जोड्न प्रयोग हुँदै आएको छ। विशेषगरी युक्रेनमा बमबारी गर्न प्रयोग गरिने 'शाहेद ड्रोन' को ओसारपसारका लागि यो मार्ग रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
इजरायली नौसेनाका पूर्व कमाण्डर एलिजर मारमले यो हमलाको मुख्य उद्देश्य रुसी तस्करीलाई सीमित गर्नु रहेको बताएका छन्। उनले भने, ‘यस हमलाको सबैभन्दा महत्त्वपूर्ण लक्ष्य रुसी तस्करीलाई सीमित गर्नु र इरानीहरूलाई क्यास्पियनमा आफ्नो समुद्री प्रतिरक्षा छैन भन्ने देखाउनु थियो।’
इजरायली सेनाका अनुसार इरानको बन्दर अन्जालीमा गरिएको आक्रमणमा युद्धपोत, बन्दरगाह, कमाण्ड सेन्टर र जहाज मर्मत गर्ने शिपयार्ड सहित दर्जनौँ निशानामा प्रहार गरिएको छ। सार्वजनिक भएका तस्बिरहरूले इरानको नौसेना मुख्यालयमा क्षति पुगेको र जहाजहरू नष्ट भएको देखाएका छन्।
यस आक्रमणले सैन्य सामग्री मात्र नभई इरानको खाद्य आपूर्तिमा समेत असर पार्न सक्ने देखिएको छ। राष्ट्रिय सुरक्षा परिषद्का पूर्व मध्य एशिया निर्देशक एरिक रुडेनशियोल्डले भने, ‘ड्रोन र अन्न आपूर्तिमा पर्ने प्रभावले इरानको स्थितिमा गम्भीर अल्पकालीन असर पार्नेछ।’
रुसको विदेश मन्त्रालयले यस आक्रमणको निन्दा गर्दै मस्कोले क्यास्पियनमा युद्ध विस्तार नगर्न चेतावनी दिएको छ। रुसले सो बन्दरगाह नागरिक सामानको व्यापारका लागि प्रयोग भइरहेको दाबी समेत गरेको छ। यद्यपि सन् २०२३ मा मात्रै सोही मार्गबाट तीन लाखभन्दा बढी तोपखानाका गोला र १० लाख राउन्ड गोला बारुद इरानबाट रुस पुगेको प्रतिवेदनले देखाएको छ।
इजरायलले रुसलाई प्रत्यक्ष नचिढ्याउन आक्रमणको आधिकारिक जानकारीमा रुसको नाम नलिए पनि इरानको सैन्य क्षमता कमजोर पार्ने रणनीतिलाई निरन्तरता दिएको भनेको छ। विश्लेषकहरूका अनुसार यो आक्रमणले केही समयका लागि हतियार प्रवाहमा बाधा पुर्याए पनि इरान र रुसले अन्य वैकल्पिक बन्दरगाह प्रयोग गर्न सक्ने सम्भावना कायमै छ। एजेन्सी
प्रकाशित: ११ चैत्र २०८२ ०७:०७ बुधबार