अन्तर्राष्ट्रिय

एयर चाइनाको उडानमा आगलागी, सुरक्षित रूपमा सांघाई डाइभर्ट

एयर चाइनाद्वारा सञ्चालित एक व्यावसायिक यात्रुवाहक जहाजमा  शनिबार लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ। 

पूर्वी चिनियाँ सहर हाङझाउबाट दक्षिण कोरियाको सियोल नजिकैको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको एयर चाइनाको दैनिक उडानमा यो घटना भएको उक्त एयरलाइन्सले जनाएको छ। एयरलाइन्सले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा जारी गरेको विज्ञप्तिअनुसार उडानमा ओभरहेड बिनमा राखिएको यात्रुको बोक्ने सामानमा लिथियम ब्याट्री स्वतःस्फूर्त रूपमा प्रज्वलित भयो। चालक दलले तुरुन्तै निर्धारित प्रक्रिया अनुसार परिस्थितिलाई नियन्त्रणमा लिएका थिए र घटनामा कोही पनि घाइते नभएको विज्ञप्तिमा उल्लेख छ।  

उडान सुरक्षा सुनिश्चित गर्नू विमानलाई सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अनियोजित अवतरणको लागि डाइभर्ट गरिएको थियो। उडान स्थानीय समय अनुसार बिहान ९ः४७ बजे हाङजाउबाट उडेको थियो । समुद्रमाथि पूर्ण रूपमा घुमेर बिहान ११ बजेपछि सांघाईमा अवतरण गरेको थियो। द चोसुन डेलीले पनि यो घटनालाई पुष्टि गर्दै विमानलाई सांघाईमा आपत्कालीन अवतरण गर्नुपरेको जनाएको छ।एजेन्सी

प्रकाशित: २ कार्तिक २०८२ ०८:०५ आइतबार