अन्तर्राष्ट्रिय

अल्जेरियामा डढेलो, १२ जनाको मृत्यु

उत्तरपूर्वी अल्जेरियाका तीन प्रान्तमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। 

गृहमन्त्री सइद सायुदका अनुसार जिजेलमा पाँच, बेजैयामा चार र तिजी ओजुमा तीन जनाको मृत्यु भएको छ। उनले राजधानी अल्जियर्सबाट करिब २७० किलोमिटर पूर्वमा रहेको बेजैया प्रान्तको भ्रमणका क्रममा बुधबार साँझ बताएका हुन्। 

राष्ट्रपति अब्देलमाद्जिद तेबुनेको निर्देशनमा गृहमन्त्री सायुदले स्वास्थ्यमन्त्री मोहम्मद सेदिक एट मेसाउडेनसँगै बेजैयाको स्थलगत भ्रमण गरी आगो नियन्त्रणका लागि भइरहेका प्रयासको निरीक्षण गरेका थिए। 

नागरिक सुरक्षा अधिकारीहरूका अनुसार बुधबार स्थानीय समयअनुसार राति ८ बजेसम्म विभिन्न प्रान्तमा १५९ वटा वन तथा वनस्पति आगलागी अभिलेख भएका थिए। तीमध्ये ९० वटा नियन्त्रणमा आइसकेका थिए भने ६९ वटा अझै सक्रिय थिए । बेजैयामा १८, स्किक्डामा १३, तिजी ओजुमा १२ र जिजेलमा सातवटा आगलागी सक्रिय रहेको जनाइएको छ। 

आगलागी बस्तीमा प्रवेश गरेपछि सम्भावित जोखिमबाट जोगाउन केही परिवारलाई सावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो। आगो नियन्त्रणका लागि अग्निनियन्त्रक तथा नागरिक सुरक्षा टोली परिचालन गरिएको छ। 

उत्तर अफ्रिकी मुलुक अल्जेरियाले पछिल्ला महिनामा पटक–पटक डढेलो सामना गर्दै आएको छ। यस्ता घटनामा हालसम्म २० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै वन, कृषि क्षेत्र र घरमा ठूलो क्षति पुगेको छ।   

प्रकाशित: ११ भाद्र २०८३ १७:५५ बिहीबार