अन्तर्राष्ट्रिय

श्रीमती र ६ छोराछोरीको निर्मम ह*त्या, बाबुले पनि लिए आफ्नै ज्यान

अमेरिकाको मिशिगन राज्यमा एक दर्दनाक घटना भएको छ। त्यहाँ एक बाबुले आफ्नै श्रीमती र छ जना बालबालिकालाई गोली हानेर हत्या गरेपछि घरमा आगो लगाएर आफूले पनि आत्महत्या गरेका छन्।

अधिकारीहरूका अनुसार मिशिगनको ग्रान्ड हेभन टाउनशिपको एक घरभित्र छ बालबालिका र दुई वयस्क व्यक्तिलाई मृत अवस्थामा फेला पारिएको थियो। आठै जनालाई गोली लागेको थियो। मृतक वयस्क व्यक्तिहरूको पहिचान ४७ वर्षीय क्रिस्टोफर कारोल्किभिज र ३९ वर्षीया अमान्डा कारोल्किभिजको रूपमा भएको छ। 

बालबालिकाको नाम सार्वजनिक गरिएको छैन। उनीहरू १५, १२, ११ र ५ वर्षका चार छोरा तथा ११ वर्षका दुई छोरी थिए। तीमध्ये दुई छोरी धर्मपुत्री थिइन्। प्रहरीका अनुसार पति क्रिस्टोफरले नै सबैको हत्या गरेर आत्महत्या गरेको पुष्टि भएको छ।

फक्स न्युजका अनुसार हत्या गरेपछि क्रिस्टोफरले घरका विभिन्न ठाउँमा आगो लगाएका थिए। आवासीय आगलागीको कारण र उत्पत्तिबारे मिशिगन राज्य प्रहरीको आगजनी अनुसन्धानकर्ताहरूले अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक संकेत अनुसार आगो नियतवश घरको भित्री भागका धेरै ठाउँमा लगाइएको थियो। आगो र धुवाँका कारण परिवारका घरपालुवा जनावरहरू पनि मरेका छन्।

अमान्डा आफ्ना दुई धर्मपुत्री छोरीहरूसँगै चीनको भ्रमणबाट फर्किएकी थिइन्। उनले छोरीहरूलाई सांघाई डिज्नील्यान्ड घुमाएकी थिइन्। घटना स्थानीय समय अनुसार शुक्रबार बिहान भएको थियो। अमान्डाका सौतेनी बुबाले उनलाई ‘हाम्रो जीवनमा ल्याएको आनन्दको लागि धेरै आभारी’ भएको बताएका छन्। परिवार यो घटनाबाट अत्यन्त स्तब्ध र दुःखी भएको छ। 

प्रहरीले यो घटनामा अन्य कुनै पनि शंकास्पद व्यक्ति नरहेको स्पष्ट पारेको छ। यो दुःखद घटना सबैका लागि अकल्पनीय रहेको बताइएको छ। प्रहरीले यसलाई हत्या र आत्महत्याको घटनाका रूपमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ श्रावण २०८३ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App