अमेरिकाको क्यालिफोर्नियामा रहेकी लोकप्रिय चील ज्याकीको स्वास्थ्य फेरि बिग्रिएको छ। विश्वभरका लाखौं मानिस यसबाट चिन्तित भएका छन्।
ओजाई र्याप्टर सेन्टरले भनेको छ, ‘उनको रगत जाँचमा प्याक्ड सेल भोल्युम अर्थात् रगतमा रातो कोषको मात्रा १३ प्रतिशतमा झरेको छ। सामान्य अवस्थामा यो ३० प्रतिशतभन्दा बढी हुनुपर्छ। यसको मतलब उनको रक्तअल्पता (एनिमिया) अझ गम्भीर भएको छ।’
ज्याकी दुई हप्ताभन्दा बढी समयदेखि सेन्टरमा उपचार गराइरहेकी छिन्। पशु चिकित्सकहरूले थप जाँच सुरु गरेका छन्। सेन्टरका अनुसार अहिले अन्य थप जानकारी उपलब्ध छैन र नयाँ खबर आएपछि सबैलाई जानकारी गराइनेछ। साथै, सहयोग गर्ने सबैलाई सेन्टरले धन्यवाद दिएको छ।
जुलाई १७ मा दुई साना चीलबिच झगडा भएपछि ज्याकी बिग बियर ताल नजिकै जमिनमा फसेर उड्न सकेकी थिइनन्। उनलाई उद्धार गरेर सेन्टर लगियो। त्यहाँ जाँच गर्दा उनमा गम्भीर रक्तअल्पता र मृगौलामा समस्या देखियो। झगडाबाट उनको कुनै हाड भाँचिएको वा घाउ भने भएको थिएन। चिकित्सकहरूका अनुसार उनी पहिलेदेखि नै बिरामी थिइन् र झगडाका कारण मात्र जमिनमा झर्न पुगिन्।
यसअघि सिसाको विष, क्यान्सर र माछा मार्ने हुकजस्ता कुराहरूको परीक्षण गरेर ती सबै सम्भावनालाई हटाइसकिएको छ। जुलाई २० तिर अर्को चीलबाट उनलाई रगत दिइएको थियो। त्यसपछि उनको स्वास्थ्यमा केही सुधार देखिएर उनी आफैं खान थालेकी थिइन्। जुलाई २९ मा उनलाई गम्भीर हेरचाह कक्षबाट सामान्य कोठामा सारिएको भए पनि उनी अझै धेरै बिरामी छिन्।
ज्याकी र छाडो (भाले चील) लाई लाइभ क्याममार्फत संसारभरका मानिसले हेर्ने गर्थे। यस वर्षका चल्ला लुना र स्यान्डी भने उडिसकेका छन्। छाडो अहिले पनि गुँड र क्षेत्रको रेखदेख गरिरहेको छ।
सेन्टरले भनेको छ, ‘यो एक जटिल समस्या हो। पूर्ण रूपमा निको हुन हप्ता वा महिनाहरू लाग्न सक्छ। रोगको वास्तविक कारण पत्ता लगाउन प्रयास जारी छ।’ ज्याकीका प्रशंसकहरू भने अहिले उनको स्वास्थ्य सुधार भएको राम्रो खबरको प्रतीक्षामा छन्।
प्रकाशित: १९ श्रावण २०८३ २१:२५ मंगलबार