इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ‘फिका’ नामक वेबसाइटमा आफ्नो र अन्य महिलाको सम्पादित तस्बिर साझा गरेकोमा कडा आपत्ति जनाएकी छन्। उनले दोषीलाई कडा सजाय दिने बताएकी छन्।
यो वेबसाइटमा मेलोनीकी बहिनी एरियाना, विपक्षी नेता एली स्लेन, प्रसिद्ध चियारा फेराग्नी र ईयू सांसद एलेसेन्ड्रा मोरेट्टीको तस्बिर सम्पान गरी पोस्ट गरिएको थियो। करिब सात लाख प्रयोगकर्ता भएको यो साइट आरोपपछि बन्द भएको छ।
यो अश्लील सामग्री भएको वेबसाइट थियो, जसको नामको इटालियन अर्थ ‘योनी’ भन्ने हुन्छ। धेरै महिलाले गुनासो गरे पनि पहिले कारबाही भएको थिएन। उच्च प्रोफाइल भएकी महिलाको तस्बिरका लागि वेबसाइटमा छुट्टै विशेष खण्ड बनाइएको थियो।
वेबसाइटमा महिलाको तस्बिर सम्पादन गरी यौन पोजमा देखाएर अश्लील क्याप्सन लेखिएको थियो। मेलोनीले भनिन्, ‘२०२५ मा पनि महिलाको मर्यादा कुल्चनु र अश्लील भाषा प्रयोग गर्नु सामान्य ठान्ने मानिस छन्।’
हाल यो विषयमा अनुसन्धान भइरहेको छ। फेसबुकले पनि ३२ हजारभन्दा बढी सदस्य भएको ‘मिया मोगली’ नामक समूह बन्द गरेको छ, जहाँ पुरुषले आफ्नी श्रीमती वा अपरिचित महिलाको घनिष्ठ तस्बिर साझा गर्थे। यो इटालियन शब्दको अर्थ ‘मेरी श्रीमती’ हो। एजेन्सी
प्रकाशित: १४ भाद्र २०८२ ०९:१० शनिबार