अन्तर्राष्ट्रिय

नागरिकताका लागि नक्कली बुबा : डिएनए परीक्षणबाट खुल्यो रहस्य, ४९ बालबालिकामाथि अनुसन्धान हुँदै

थाइल्यान्डमा जन्मदर्तामा अर्कै थाई पुरुषलाई बुबा देखाएर नागरिकता लिएको आरोपमा थप २४ चिनियाँ बालबालिकाको पहिचान भएको छ। 

यससँगै तीन चरणको अनुसन्धानमा पहिचान भएका बालबालिकाको संख्या ४९ पुगेको छ। प्रहरीले सरकारी अधिकारी र अस्पतालका कर्मचारीसहित थप ४६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

बैंकक पोस्टका अनुसार पछिल्लो अनुसन्धानमा आठ अस्पतालसँग सम्बन्धित जन्म दर्ताका घटना फेला परेका छन्। थाइल्यान्डको अध्यागमन ब्युरोका आयुक्त नोप्पासिन पूल्सावतले मंगलबार डिएनए परीक्षणबाट जन्म प्रमाणपत्रमा बुबा उल्लेख गरिएका कुनै पनि थाई पुरुष ती २४ बालबालिकाका वास्तविक बुबा नभएको पुष्टि भएको बताए। पहिचान भएका बालबालिकामा शिशुदेखि विश्वविद्यालयमा पढ्ने र जागिर खाने वयस्कसम्म छन्।

प्रहरीले यस प्रकरणमा विदेशी आमा, बालबालिकाका वास्तविक बुबा, बुबाका रूपमा नाम राख्न सहमत भएका थाई पुरुष, सरकारी अधिकारी र अस्पतालका कर्मचारीको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। उनीहरूले गलत विवरण राखेर विदेशी परिवारलाई थाई नागरिकता लिन सहयोग गरेको आशंका गरिएको छ।

अनुसन्धानमा २७ वर्षीय थावेसाकको घटना पनि खुलेको छ। उनको जन्म प्रमाणपत्रमा वान्चाईलाई बुबा देखाइएको थियो। तर डिएनए परीक्षणले चिनियाँ नागरिक चेन टोङ्गेन उनका वास्तविक बुबा भएको देखायो। प्रहरीका अनुसार थावेसाकले यही जन्म दर्ताका आधारमा थाई नागरिकता पाएका थिए। उनले औद्योगिक इन्जिनियरिङमा स्नातक गरेका थिए र समुत प्राकानको एक विद्युतीय केबल कम्पनीमा काम गर्दै मासिक करिब ३० हजार भाट कमाउँथे। जन्मदर्तामा बुबा बन्न सहमत भएबापत वान्चाईले ५ हजार भाट पाएको बताएका छन्।

अर्को घटनामा २३ वर्षीय जुम्ल्याहा सुत्थिपत र सुत्थिनाईको जन्म प्रमाणपत्रमा कोमोनलाई बुबा देखाइएको थियो। तर डिएनए परीक्षणले कोमोन उनीहरूका वास्तविक बुबा नभएको देखायो। सुत्थिपत मेडिकल विद्यार्थी हुन् भने उनका भाइ सुत्थिनाई हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पढाइ पूरा गरी प्रोग्रामरका रूपमा काम गर्छन्। उनीहरूकी आमा हान्सामोनमाथि दुवै छोराको परिचयपत्र बनाउने क्रममा गलत विवरण प्रमाणित गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

त्यस्तै, तीन र सात वर्षका दुई बालकको जन्म प्रमाणपत्रमा फरक-फरक पुरुषलाई बुबा देखाइएको थियो। दुवैकी आमा एउटै हुन्। डिएनए परीक्षणले जेठो बालकका वास्तविक बुबा चिनियाँ नागरिक झाङ रेन्की भएको देखाएको छ। जन्म प्रमाणपत्रमा बुबा देखाइएका मोटरसाइकल ट्याक्सी चालक सोमकियतले त्यसका लागि ५ हजार भाट लिएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानको पहिलो चरणमा तीन बालबालिका र उनीहरूका परिवारलाई नागरिकता लिन सहयोग गरेको आरोपमा ६ जना पहिचान भएका थिए। दोस्रो चरणमा थप २२ बालबालिका फेला परेका थिए भने ३६ जना संदिग्ध पक्राउ परेका थिए। तेस्रो चरणमा थप २४ बालबालिकाको विवरणमाथि अनुसन्धान भइरहेको छ।

अधिकारीहरूले २४ बालबालिकाको जन्मदर्ता र नागरिकतासम्बन्धी कागजात जाँच गर्ने बताएका छन्। नागरिकता गलत विवरणका आधारमा लिएको पुष्टि भए सम्बन्धित कागजात रद्द हुन सक्छन्। तर, कुनै पनि निर्णय गर्दा बालबालिकाको अधिकार र हितलाई ध्यानमा राखिने प्रहरीले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १२:५७ बुधबार