अन्तर्राष्ट्रिय

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, मिडियासमेत झुक्किए

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो।

‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ।

संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा पाउन र मानिसहरूलाई आफ्नो नतिजामा विश्वास दिलाउन सक्छन् भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो। अहिले उक्त संस्थाको ‘एक्स’ खाता हटाइएको छ।

यो घटना सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था ‘फिफ्टीप्लसवन’ ले वेजवुडका सर्वेक्षणमाथि अनुसन्धान गर्ने क्रममा बाहिर आएको हो।

वेजवुडले सार्वजनिक गरेका नक्कली नतिजाहरूलाई ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले समेत स्थान दिएका थिए।

‘द न्युयोर्क टाइम्स’ का अनुसार, वेजवुडले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरेका १५ वटा सर्वेक्षण आफ्नो सर्वेक्षणसम्बन्धी डाटाबेसमा समावेश गरेको थियो। ती सबै सर्वेक्षण अहिले हटाइएको छ।

नक्कली सर्वेक्षणले चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पारेको आरोप पनि लागेको छ। मिसिगन राज्यकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले वेजवुडले जुन महिनाको अन्त्यतिर सार्वजनिक गरेको सर्वेक्षणमा आफ्नो समर्थन एकल अङ्कमा देखाइएपछि अभियान प्रभावित भएको बताए।

उनका अनुसार त्यसपछि चन्दा आउन रोकिएको थियो, स्वयंसेवक निराश भएका थिए र सञ्चारमाध्यमले समेत आफूलाई चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दबाब दिएका थिए।

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उक्त सर्वेक्षणले आफ्नो अभियान नै ध्वस्त पारेको बताए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नक्कली सर्वेक्षण प्रयोग गरेको भन्दै ‘द न्युयोर्क टाइम्स’ को आलोचना गरे। उनले संस्थाले मनगढन्ते तथ्याङ्कलाई स्थान दिएको आरोप लगाए।

सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले चुनावी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले बनाइएका नक्कली सर्वेक्षणको सङ्ख्या बढिरहेको बताए। उनले सञ्चारमाध्यमलाई यस्ता गतिविधिलाई बढावा नदिन आग्रह गरे। 

यसअघि अगस्टमा ‘मेडियन स्ट्र्याटेजीज’ नामक अर्को संस्थाले पनि सर्वेक्षणका नतिजा बनावटी भएको स्वीकार गरेको थियो।

त्यस्तै, फिफ्टीप्लसवनले अनुसन्धानपछि ‘सोकेल स्ट्र्याटेजीज’ नामक अर्को संस्थासँग तथ्याङ्क सङ्कलनको काम बन्द गर्ने जनाएको छ।

विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका कारण नक्कली सर्वेक्षण तयार पार्न र तिनलाई वास्तविकजस्तै देखाउन सजिलो भएको बताएका छन्।

अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले पनि बनावटी तथ्याङ्क र संस्थागत विवरण पहिचान गर्न कठिन हुँदै गएको जनाएको छ।

संस्थाकी अध्यक्ष मेरी लोशले यस्ता जालसाजीले जनमत र चुनावी सर्वेक्षणप्रतिको विश्वास कमजोर पार्ने चेतावनी दिए।

यद्यपि, उनले नक्कली सर्वेक्षणका घटनालाई वैध चुनावी सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिए। एएफपी

प्रकाशित: ६ कार्तिक २०८३ १८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App