सन् २०१९ मा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी नौसेना सिल टोलीले उत्तर कोरियाको तटमा गुप्तचर अभियान चलाएको खुलासा भएको छ। यसको उद्देश्य किम जोङ-उनको सञ्चार प्रणालीमा जासुसी गर्न उपकरण जडान गर्नु थियो। तर मिसन असफल भयो र निहत्था उत्तर कोरियाली नागरिक मारिए।
जनवरी २०१९ को चिसो रातमा नौसेना सिल टोली पनडुब्बीबाट निस्केर उत्तर कोरियाको चट्टानी तटतिर लाग्यो। टोलीमा ओसामा बिन लादेनलाई मार्ने सिपाही थिए। उनीहरूको लक्ष्य किम जोङ-उनको जासुसी गरी आणविक वार्तामा सहयोग गर्नु थियो। मिसन तत्कालीन राष्ट्रपति ट्रम्पले अनुमोदन गरेका थिए, तर यो सुरु हुनासाथ असफल भयो।
टोलीले किनार खाली ठानेर रात्रिकालीन चस्मा र भिजेको लुगा लगाई पानीमा पसे। तर अँध्यारोबाट एउटा सानो उत्तर कोरियाली डुगां देखियो, जसको टर्च पानीमा परिरहेको थियो। सम्पर्क सम्भव नभएपछि र पक्राउ पर्ने डरले टोलीले तुरुन्त गोली चलायो। केही सेकेन्डमै डुगांमा रहेका तीनै जनाको मृत्यु भयो। पछि थाहा भयो कि ती गोला संकलन गर्ने मानिस निहत्था नागरिक थिए।
टोलीले उपकरण जडान नगरी पनडुब्बी सम्पर्क गरेर भाग्यो। कुनै अमेरिकी सैनिक घाइते भएनन्।
६ वर्षसम्म गोप्य राखिएको यो मिसनबारे पहिलो पटक खुलासा भएको हो। यो जानकारी सरकारी अधिकारी, पूर्व सैनिक र ट्रम्प प्रशासनका सदस्यसँगको अन्तर्वार्तामा आधारित छ।
अमेरिकी अधिकारीका अनुसार मारिएका नागरिकको शव पानीमा डुबाइयो। घटनापछि उत्तर कोरियाली सैन्य गतिविधि बढ्यो। तर उत्तर कोरियाले यसबारे कुनै बयान दिएन। ट्रम्प प्रशासनले पनि कंग्रेसका प्रमुख सदस्यलाई जानकारी गराएन।
मिसन असफल भए पनि सन् २०१९ को अन्त्यमा ट्रम्प र किमबिच आणविक शिखर सम्मेलन भयो। तर सम्झौता भएन। त्यसपछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण तीव्र बनाएको थियो। एजेन्सी
प्रकाशित: २३ भाद्र २०८२ १०:५९ सोमबार