नर्वेको राजधानी ओस्लोस्थित अमेरिकी दूतावास नजिकै विस्फोट भएको छ ।
विस्फोटपछि प्रहरीले आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा सतर्कता बढाएको छ। स्थानीय समयअनुसार राति एक बजे विष्फोट भएको प्रहरीले जनाएको छ।
'विशाल मात्रामा प्रहरी स्रोतसाधन तत्पर गरिएको छ। दूतावाससँग निरन्तर संवाद भइरहेको छ र अहिलेसम्म कुनै मानवीय क्षतिको सूचना प्राप्त भएको छैन।', प्रहरी अधिकृत मिचेल डेलीमाइले भने, 'भवनको सार्वजनिक प्रवेशद्वार नजिकै विष्फोट हुँदा दूतावास भवनमा सामान्य क्षति पुगेको छ।'
हालसम्म विष्फोटको कारण र संलग्नताको बारेमा थाहा हुन सकेको छैन।
अमेरिकी दूतावास ओस्लोको मोर्गेडल्सवेगन क्षेत्रस्थित छ, जो शहरको केन्द्रबाट करिब सात किलोमिटर टाढा छ।
प्रकाशित: २४ फाल्गुन २०८२ ११:४३ आइतबार