बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्।
बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले राजधानी ला पाजबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको वियाचास्थित सैन्य परिसरमा विस्फोट भएको बताएका छन्। उनका अनुसार उक्त क्षेत्रमा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयले शुक्रबार दिउँसो करिब २ः३० बजे भएको विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका दृश्यमा विस्फोटपछि सहरको केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो आकाशतिर उडेको देखिएको थियो। विस्फोटबाट प्रभावित क्षेत्रका घरहरूमा क्षति पुगेको, झ्यालहरू फुटेको, छाना भाँचिएको र भग्नावशेष छरिएको दृश्यमा देखाइएको थियो।
जस्टिनियानोले दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता रहेको पुष्टि गरेका छन्। गम्भीर अवस्थामा रहेका दुई जनासहित घाइतेलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको उनले बताएका छन्।
मृतक र बेपत्ता हुनेमा सैन्य परिसरमा कार्यरत सैनिक रहेको रक्षा मन्त्रालयले जनाएको छ। प्रहरीको प्रारम्भिक प्रतिवेदनले कम्तीमा ५२ जना सर्वसाधारणसहित ५९ जना घाइते भएको जनाएको थियो।
विस्फोटपछि अग्निनियन्त्रकहरू सैन्य परिसरमा पुगेका थिए। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित आश्रयमा सारिएको जनाइएको छ। सुरक्षाका कारण उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरी उद्धारका लागि दर्जनौँ प्रहरी अधिकारी परिचालन गरिएको एएफपीले जनाएको छ।
राष्ट्रपति रोड्रिगो पाजले मृतकका परिवार, घाइते तथा विस्फोटबाट प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै घटनाको पूर्ण, प्राविधिक र पारदर्शी अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा घटनाको कारण स्पष्ट रूपमा पत्ता लगाउनुपर्ने, सुरक्षा प्रोटोकल पालना भए–नभएको प्रमाणित गर्नुपर्ने र उत्पन्न हुन सक्ने जिम्मेवारी निर्धारण गर्नुपर्ने बताएका छन्।
वियाचाका अधिकारीले घटनापछि तीन दिनको शोक घोषणा गरेका छन्। रक्षामन्त्री जस्टिनियानोले लगातार दुई वटा विस्फोट भएको पुष्टि गरेका छन्। पहिलो विस्फोटमा भण्डारण गरिएको पाइरोटेक्निक सामग्री संलग्न भएको विश्वास गरिएको छ। दोस्रो विस्फोटको कारण र त्यसमा प्रयोग भएको सामग्री भने अझै निर्धारण भइनसकेको उनले बताएका छन्।
रक्षा मन्त्रालयले विस्फोटमा कुनै सैन्य हतियार विस्फोट नभएको स्पष्ट पारेको छ। जस्टिनियानोले अहिलेको प्राथमिकता घाइतेको उपचार, उनीहरूका परिवारलाई सहयोग तथा बेपत्ताको खोजी र पहिचान रहेको बताएका छन्।
प्रकाशित: २० भाद्र २०८३ १५:११ शनिबार