पछिल्ला महिनामा युरोपका विभिन्न भागमा भीषण डढेलो लागेको छ । जलवायु परिवर्तनका कारण बढेको प्रचण्ड गर्मीका कारण लागेको यो डढेलोको तत्कालीन क्षतिपूर्तिको अधिकांश भार निजी बिमा कम्पनीहरूले वहन गर्ने अपेक्षा छ । तर जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् झन् बारम्बार र विनाशकारी बन्दै जाँदा त्यसको आर्थिक भार अन्ततः कसले व्यहोर्ने भन्ने प्रश्न गम्भीर बनेको छ ।
फ्रान्सभर अभूतपूर्व डढेलो फैलिँदा त्यहाँका अधिकारीहरूले करिब २ लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकेका छन् । स्पेन र ग्रीसमा पनि डढेलो फैलिँदा बिमा शुल्क बढ्ने तथा जलवायुजन्य जोखिमविरुद्धको बिमा सुरक्षामा रहेको खाडल अझ फराकिलो हुने चिन्ता बढेको छ ।
क्रेडिट रेटिङ एजेन्सी ‘मर्निङस्टार डीबीआरएस’का अनुसार फ्रान्समा यसपटकको डढेलोबाट १० अर्बदेखि १५ अर्ब युरो बराबरको क्षति हुन सक्छ । त्यसमध्ये बिमाबाट दाबी गरिने रकम पनि कैयौँ अर्ब युरो पुग्ने अनुमान छ ।
विश्लेषकहरूका अनुसार हालको क्षति बिमा उद्योगका लागि व्यवस्थापन गर्न सकिने खालको भए पनि, यदि भविष्यमा डढेलो घना जनसंख्या भएका सहरसम्म फैलिन थाल्यो भने त्यसले धेरै ठूलो चुनौती सिर्जना गर्न सक्छ ।
‘यदि नियन्त्रणबाहिर गएको डढेलो मध्यम आकारका सहरसम्म पुग्यो भने त्यो बिमा उद्योगका लागि वास्तविक संकट बन्न सक्छ । त्यस अवस्थामा हुने क्षतिको आकार अहिलेको भन्दा पूर्णतः फरक हुनेछ,’ मर्निङस्टार डीबीआरएसका प्रबन्ध निर्देशक मार्कोस आल्भारेजले समाचार संस्था रोयटर्सलाई भने ।
यो क्षति गत वर्ष अर्थात् सन् २०२५ मा अमेरिकाको क्यालिफोर्नियाको प्यालिसेड्समा लागेको डढेलोबाट भएको करिब ४० अर्ब डलर बराबरको बीमित क्षतिभन्दा निकै कम भए पनि, फ्रान्सको इतिहासकै सबैभन्दा महँगो डढेलोका रूपमा भने अंकित हुन सक्ने सम्भावना छ ।
घर, व्यवसाय र भौतिक संरचनामा भएको क्षतिसँगै ठूलो संख्यामा गरिएको उद्धार तथा विस्थापनका कारण आफ्नो सम्पत्ति र थातथलोसम्म पुग्न नपाएका नागरिकले व्यवसाय अवरोध, आपूर्ति शृंखला प्रभावित हुनु तथा विद्युत् सेवा अवरुद्ध हुनुजस्ता अप्रत्यक्ष क्षतिका दाबी पनि आउने बिमा कम्पनीहरूको अपेक्षा छ ।
तत्कालका लागि पुनःस्थापनाको अधिकांश खर्च निजी बिमा कम्पनीहरूले नै व्यहोर्ने देखिएको छ । फ्रान्समा बाढी र खडेरीजस्ता विपद्का लागि सरकारी प्राकृतिक विपद् राहत योजना भए पनि डढेलो त्यस योजनाअन्तर्गत पर्दैन ।
‘फिच रेटिङ्स’ नामक रेटिङ संस्थाले गत साता सार्वजनिक गरेको अध्ययनमा ठूला आवासीय, व्यावसायिक वा औद्योगिक क्षेत्रमा डढेलो नफैलिने हो भने सन् २०२६ मा बिमा कम्पनीहरूको आम्दानीमा यसको प्रभाव सीमित रहने उल्लेख गरेको छ ।
गत साता ‘द इन्स्युरर’ नामक पत्रिकाले फ्रान्सका बिमा कम्पनीहरूले बोर्डो सहर आसपासको डढेलोका कारण विस्थापित भएका बीमितलाई अधिकतम तीन सातासम्म होटलमा बस्न लाग्ने खर्च बिमाबाट उपलब्ध गराउने आपत्कालीन व्यवस्था गरेको जनाएको थियो ।
बोर्डो सहर नजिकको मार्शप्रिमका फार्मासिस्ट निकोलास मुलाक जुलाई २४ मा डढेलो घरनजिक आइपुगेपछि आफ्नो जीवनसाथीसँग घर छाड्न बाध्य भएका थिए । घरमा क्षति नभए पनि उनले बसोबास र खानपानको खर्च फिर्ता पाउन बिमा दाबी गरेका थिए । उनले दाबी प्रक्रिया “अत्यन्त सहज”रहेको बताए ।
जलवायु बिमामा ठूलो खाडल
यसपटकको डढेलोले युरोपमा बिमा सुरक्षाको खाडल (प्रोटेक्सन ग्याप) को बहसलाई फेरि तीव्र बनाएको छ । यसको अर्थ प्राकृतिक विपद्बाट भएको कुल क्षति र बिमाबाट भरपाइ हुने रकमबीचको अन्तर हो ।
जुरिचस्थित बिमा ब्रोकर मार्शका ग्लोबल प्लेसमेन्ट प्रमुख टाइसन विकरीका अनुसार स्पेनमा सन् २०२५ को डढेलोबाट करिब ५ अर्ब युरो बराबरको क्षति भएको थियो । तर त्यसमध्ये एक अर्ब युरोभन्दा निकै कम रकम मात्र बिमाबाट भरपाइ भएको थियो ।
युरोपेली केन्द्रीय बैंक (ईसीबी) र युरोपेली संघअन्तर्गतका बिमा नियामक निकायले सन् १९८० देखि २०२४ सम्म युरोपमा जलवायुजन्य विपद्बाट भएको कुल क्षतिको केवल एक चौथाइ मात्र बीमित रहेको चेतावनी दिएका छन् । डढेलोसम्बन्धी बिमा प्रणाली अमेरिकाको तुलनामा युरोपमा कम विकसित छ ।
‘स्पेनले यसअघि पनि ठूला डढेलो भोगिसकेको छ र बिमा उद्योगसँग यस्ता घटनाको व्यवस्थापन गर्ने पर्याप्त अनुभव छ । तर अहिले परिवर्तन भइरहेको कुरा भनेको जलवायुजन्य जोखिमको आवृत्ति र तीव्रता दुवै बढ्नु हो,’ स्पेनस्थित बिमा ब्रोकर ग्यालाघर स्पेनकी प्रमुख कार्यकारी अधिकृत आना मातारान्जले भनिन् ।
विश्लेषक र जलवायु विज्ञहरूले युरोपमा ऐतिहासिक डढेलोसम्बन्धी तथ्यांक सीमित भएकाले बिमा कम्पनीहरूले जोखिम मूल्यांकन र बिमा शुल्क निर्धारण गर्न कठिनाइ हुने बताएका छन् । इन्सुरेन्स ब्रोकर मिलर कम्पनीका फ्रान्स प्रमुख रोडोल्फ मानका अनुसार आगामी जनवरीमा बिमा नवीकरण हुँदा उच्च जोखिम भएका क्षेत्रमा घर बिमाको प्रिमियम बढ्ने सम्भावना छ । उनका अनुसार फ्रान्समा अधिकांश घरधनीसँग सम्पत्ति बिमा हुन्छ, किनकि बैंकबाट ऋण लिएर घर किन्नेहरूले अनिवार्य रूपमा बिमा गर्नुपर्छ । भाडामा बस्नेहरूका लागि पनि घर बिमा लिनुपर्ने कानुनी व्यवस्था छ ।
पुनर्बिमा कम्पनी ‘म्युनिख रे’को तथ्यांकअनुसार सन् २०१६ देखि २०२५ सम्म विश्वभर डढेलोबाट भएको कुल १७३ अर्ब युरो बराबरको क्षतिमध्ये युरोपको हिस्सा ५ प्रतिशत मात्र थियो ।
बिमा कम्पनी एक्साको जलवायु अनुसन्धान इकाइले जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०५० सम्म फ्रान्सका सहर वरपर उच्च जोखिमयुक्त डढेलो हुने दिनको संख्या औसतमा करिब ७० प्रतिशतले बढ्न सक्छ ।
बिमा सहकारी संस्थाहरूको युरोपेली संगठन एमाइसकी महासचिव सारा गोडार्डले बढ्दो प्राकृतिक विपद्का जोखिमले युरोपको बिमा संरक्षण खाडल घटाउनुपर्ने आवश्यकता अझ स्पष्ट बनाएको बताइन् । यद्यपि युरोपेली संघस्तरमा यससम्बन्धी पहल अझै प्रारम्भिक चरणमै रहेको उनको भनाइ छ ।
“यी डढेलोको अन्तिम आर्थिक क्षतिको यकिन आकलन गर्न अझै चाँडो भए पनि, युरोपमा अहिले क्यालिफोर्निया र अस्ट्रेलियाका डढेलोको जोखिममा रहेका केही क्षेत्रमा जस्तै विषम मौसमी अवस्था युरोपमा पनि बढ्दै गएको स्पष्ट देखिन्छ,”लन्डनस्थित कानुनी फर्म क्लाइड एन्ड कोका विन लरेन्सले भने । (रोयटर्समा आधारित)
प्रकाशित: १९ श्रावण २०८३ १८:४० मंगलबार