पूर्व मिस स्विट्जरल्यान्ड बीट्रिस केउलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् १९९३ मा आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।
अमेरिकी संसदको न्यायिक समितिका डेमोक्र्याट सदस्यहरूले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उनको दाबी समेटिएको छ।
प्रतिवेदनअनुसार उक्त समयमा २४ वर्षकी केउललाई नोभेम्बर १९९३ मा ट्रम्पले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो। त्यतिबेला ट्रम्पले उनलाई अमेरिकी भिसा र न्यूयोर्क विश्वविद्यालयमा भर्ना हुन सहयोग गर्ने आश्वासन दिएका थिए। सोही कार्यक्रममा यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टाइनले पनि उनलाई भेटेर पार्टीमा आउन निमन्त्रणा दिएको प्रतिवेदनमा उल्लेख छ।
केउलका अनुसार त्यस दिन ट्रम्पको स्वामित्वमा रहेको न्यूयोर्कको प्लाजा होटलको एउटा कोठामा बोलाएर उनीमाथि जबर्जस्ती गरिएको थियो। घटनापछि ट्रम्पले भिसा र विश्वविद्यालयमा भर्नाका लागि सहयोग गर्ने आश्वासन दोहोर्याउँदै यसबारे कसैलाई नभन्न भनेको उनको दाबी छ। प्रतिवेदनले केउलको भनाइसँग मेल खाने अन्य विवरणसमेत प्रस्तुत गरेको छ।
प्रतिवेदनमा ट्रम्प र एपस्टाइनले युवा महिलालाई आकर्षित गर्न सौन्दर्य प्रतियोगिताको प्रयोग गरेको आरोप पनि लगाइएको छ। यसले ११ महिलासँग सम्बन्धित विवरण समेटेको छ। तर, केउलले लगाएको आरोपका सम्बन्धमा ट्रम्पमाथि कुनै आपराधिक अभियोग लगाइएको छैन।
ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले आरोप अस्वीकार गर्दै प्रतिवेदनलाई राजनीतिक उद्देश्यबाट प्रेरित प्रयास बताएकी छन्। उनले ट्रम्पले एपस्टाइनलाई आफ्नो मार-ए-लागो क्लबबाट निकालेको र एपस्टाइनसँग सम्बन्धित विषयमा ट्रम्प निर्दोष साबित भइसकेको दाबी गरेकी छन्। तत्कालीन ट्रम्पकी प्रेस सचिव क्यारोलिन लेभिटले आरोपलाई ‘झुटा’ बताएकी थिइन्।
यसअघि लेखक ई. जीन क्यारोलले पनि ट्रम्पमाथि यौन दुर्व्यवहार र मानहानिको आरोप लगाएकी थिइन्। सन् २०२३ मा नागरिक मुद्दाको सुनुवाइ गर्ने निर्णायक मण्डलले ट्रम्पलाई क्यारोलमाथि यौन दुर्व्यवहार गरेको र उनको मानहानि गरेकोमा जिम्मेवार ठहर गरेको थियो। त्यस मुद्दामा क्यारोलले ५६ लाख डलर क्षतिपूर्ति पाएकी थिइन्। ट्रम्पले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका छन्।
प्रकाशित: १० कार्तिक २०८३ १३:०२ मंगलबार