प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औँल्याए।
अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताए।
बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले पनि एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताए।
बेलायतले आगामी वर्ष जी–२० को अध्यक्षता गर्दा एआईको सुरक्षित विकासलाई प्राथमिकताका साथ उठाउने उनले जानकारी दिए।
तर अमेरिकी पक्षले एआई विकासलाई नयाँ विश्वव्यापी शासन संरचनाबाट सीमित गर्ने प्रयासप्रति सावधानी अपनाउन आग्रह गरेको छ।
ह्वाइट हाउसका विज्ञान सल्लाहकार माइकल क्रेटसिओसले एआईसम्बन्धी जोखिमका कारण प्रविधिको विकास रोक्न नहुने बताए।
चीनका लागि संयुक्त राष्ट्रसङ्घीय राजदूत फु कङले भने एआई विकासमा सबै मुलुकलाई समान अवसर दिनुपर्ने र प्रविधिलाई केही शक्तिशाली मुलुकबीचको प्रतिस्पर्धामा सीमित गर्न नहुने धारणा राखे।
बैठकमा एआईबाट जीवन र मृत्युका निर्णय गर्ने अवस्था तथा स्वचालित हतियारको सम्भावित जोखिमबारे पनि चिन्ता व्यक्त गरिएको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धका क्रममा मानिसको सट्टा एआईले निर्णय गर्ने अवस्था आउनुअघि मानव नियन्त्रण सुनिश्चित गर्नुपर्ने बताए।
यसैबीच, अमेरिका र चीनबीच एआईसम्बन्धी सुरक्षा घटनाबारे सूचना आदानप्रदान गर्ने सम्भावित नयाँ संयन्त्रबारे छलफल भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
बैठकले एआईबाट प्राप्त हुने लाभसँगै यसको सुरक्षा, मानव नियन्त्रण र जवाफदेहिताका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बहसलाई थप अघि बढाएको छ।
प्रकाशित: ८ आश्विन २०८३ १६:३६ बिहीबार