टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।
आफ्नो रकेट कम्पनी स्पेसएक्सको बजार मूल्यांकनमा भएको भारी वृद्धिसँगै मस्क ६०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका छन्।
फोर्ब्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति ५०० अर्ब डलरको सीमा नाघेको थिएन। मस्कले ६०० अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका हुन्।
डिसेम्बरको सुरुवातमा मस्कको रकेट निर्माता कम्पनी स्पेसएक्सले सेयर बिक्रीका लागि टेन्डर आह्वान गरेको थियो। जसमा कम्पनीको मूल्यांकन ८०० अर्ब डलर गरिएको छ। यो कम्पनीमा मस्कको ४२ प्रतिशत हिस्सेदारी रहेको छ।
फोर्ब्सका अनुसार गत अगस्टमा कम्पनीको मूल्यांकन ४०० अर्ब डलर गरिएको थियो। केही महिनामै कम्पनीको मूल्यांकन दोब्बरले बढेपछि मस्कको कुल सम्पत्तिमा एकैपटक १६८ अर्ब डलर थपिएको हो। गत सोमबारसम्म उनको कुल सम्पत्ति अनुमानित ६७७ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ।
६०० अर्ब डलरको सीमा पार गर्नु मस्कका लागि पछिल्ला पाँच वर्षमा हासिल भएका उपलब्धिको अर्को कडी हो। सन् २०२० को मार्चमा मस्कको सम्पत्ति जम्मा २४.६ अर्ब डलर मात्र थियो।
टेस्लाको सेयर मूल्यमा भएको अस्वाभाविक वृद्धिसँगै सन् २०२० को अगस्टमा उनी १०० अर्ब डलर सम्पत्ति पुग्ने इतिहासकै पाँचौं व्यक्ति बनेका थिए।
त्यसको केही महिनापछि, २०२१ जनवरीमा करिब १९० अर्ब डलर सम्पत्तिसहित उनी पहिलो पटक विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भए।
त्यसयता उनको सम्पत्तिको ग्राफ निरन्तर उकालो लागिरहेको छ।
प्रकाशित: १ पुस २०८२ २२:०८ मंगलबार