अन्तर्राष्ट्रिय

इमरान खानकी बहिनीमाथि अण्डा प्रहार

पाकिस्तान, रावलपिण्डीको अदियाला जेलबाहिर तोशाखाना मुद्दाको सुनुवाइपछि पाकिस्तान तहरिके इन्साफ (पीटीआई) संस्थापक एवं पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनीमाथि अण्डा प्रहार गरिएको छ।

मुद्दाको सुनुवाइपछि मिडियालाई सम्बोधन गर्दै गर्दा अलिमा खानुममाथि दुई महिलाले अण्डा प्रहार गरेका हुन्। शुक्रबार भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई महिलालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ। 

प्रत्यक्षदर्शीका अनुसार अण्डा प्रहारपछि महिलाहरू कारमा भाग्न खोजेका थिए। तर पीटीआई समर्थकहरूले गाडी घेरेर ढुंगा र मुक्काले सिसा फुटाउने प्रयास गरे।

पीटीआईले कारको दर्ता नम्बर प्राप्त गरेको र ‘अलिमा खानुममाथिको आक्रमण’ को लागि प्रहरीमा उजुरी दिने बताएको छ। अलिमाले भनिन्, ‘इमरान खानको अवस्था सामान्य छ, डाक्टरहरूले आँखा दुख्ने समस्याका लागि औषधि दिएका छन्।’  

तोशाखाना मुद्दामा इमरान खान र उनकी श्रीमती बुशरा बीबीमाथि सरकारी उपहार बेचेर अवैध नाफा कमाएको आरोप छ। शुक्रबारको सुनुवाइ प्रगति बिना स्थगित भएको थियो। अर्को सुनुवाइ आउँदो सामेबारलाई भएको छ। एजेन्सी

प्रकाशित: २१ भाद्र २०८२ १३:२६ शनिबार