सुडानको एक अस्पतालमा ड्रोन आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ।
मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी भएको आक्रमणमा चिकित्सा तथा प्रशासनिक कर्मचारीसहित १० जनाको मृत्यु भएको हो। यस्तै, २२ जना सर्वसाधारण घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।
मृतकहरु मध्ये अस्पतालको महानिर्देशक डाक्टर हमिद सुलेमान पनि रहेको जनाइएको छ भने उहाँको उपचारको क्रममा मृत्यु भएको थियो।
मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्ड र कानुनको उल्लङ्घन गरी आक्रमण गरेको बताउदै नागरिक र स्वास्थ्य सुविधालाई निरन्तर लक्षित गरी आक्रमण गरिएको भन्दै निन्दा गरेको छ।
सन् २०२३ अप्रिलको मध्यमा सुरु भएको सुडानी सशस्त्र बल र आरएस एफ बिचको द्वन्द्वमा दशौं हजारको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएको जनाइएको छ।
विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले लगभग तीन वर्ष लामो द्वन्द्वमा २१३ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण गर्दा दुई हजार भन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ।
प्रकाशित: २० चैत्र २०८२ १४:५८ शुक्रबार



