अन्तर्राष्ट्रिय

अमेरिका र जापानको संयुक्त बजार हस्तक्षेपपछि डलर कमजोर बन्यो

जापानी येनले राहत पायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानको अर्थ मन्त्रालयले बजारमा संयुक्त हस्तक्षेप पुष्टि गरेपछि अमेरिकी डलरको तुलनामा जापानी येन बलियो भएको छ।

चार दशकयताकै न्यून बिन्दुमा पुगेको येनलाई उकास्न अमेरिका र जापानले समन्वयात्मक रूपमा कदम चालेको यो लामो समयपछिको महत्वपूर्ण घटना हो। गत महिना अमेरिकी डलरको तुलनामा जापानी येन १६३ दशमलव ९९ को बिन्दुसम्म झरेको थियो, जुन सन् १९८६ पछिको सबैभन्दा कमजोर स्तर थियो। 

तर, दुवै देशका नियमनकारी निकायहरूले बजारमा हस्तक्षेप गरेपछि डलर कमजोर भई प्रतिडलर करिब १५५ देखि १५७ को स्तरमा झरेको छ। यो कदमले जापानमा आयातित वस्तुहरूको बढ्दो मूल्य र जीवनयापनको लागत नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

अमेरिका र जापानबिचको ब्याजदरमा रहेको ठूलो खाडलका कारण लगानीकर्ताहरूले उच्च प्रतिफलका लागि येन बेचेर डलरतर्फ आकर्षित हुने क्रम बढेको थियो। यसले जापानी मुद्रालाई अत्याधिक कमजोर बनायो। जापानले उपभोग गर्ने धेरैजसो वस्तु आयात गर्ने भएकाले कमजोर येनले गर्दा देशमा मूल्यवृद्धि र जीवनयापनको लागत अकासिएको थियो, जसले जापानी प्रशासनलाई दबाबमा पारेको थियो। प्रधानमन्त्री सानाए ताकाइचीको विस्तारवादी आर्थिक नीति र त्यसको लगानी स्रोतबारे चिन्ता पनि येन कमजोर हुनुको एउटा कारण थियो।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई जापानसँगको मित्रताको प्रतीक तथा विश्व अर्थतन्त्रका लागि सकारात्मक कदम मानेका छन्। उनी भन्छन्, ‘उनीहरूको येन कमजोर थियो र उनीहरूले थोरै मद्दत चाहन्थे। हामी सधैँ जापानको साथमा छौँ।’ अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आवश्यक परे भविष्यमा पनि जापानसँग संयुक्त हस्तक्षेप गर्न अमेरिका तयार रहेको स्पष्ट पारेका छन्। उनले यसलाई ‘अव्यवस्थित येनको चाल’ रोक्ने कदम भनेका छन् र जापानको ब्याजदर बढाउने प्रयासलाई समर्थन गरेका छन्।  

जापानी अर्थमन्त्री सात्सुकी कातायामाले भनिन्, ‘हामी थप संयुक्त हस्तक्षेप गर्न हिचकिचाउने छैनौँ।’ उनले यो कदम अत्याधिक अस्थिरता र अव्यवस्थित चाल रोक्नका लागि भएको बताइन्। जापानका शीर्ष मुद्रा कूटनीतिज्ञ आत्सुशी मिमुरा र अमेरिकी अधिकारीहरूले महिनौँदेखि समन्वय गरेका थिए। जापानले एक्लै पनि ठूलो मात्रामा डलर बेचेर येन किनेको थियो भने अमेरिकाको सहभागिताले यसलाई थप प्रभावकारी बनाएको छ।  

कमजोर येनका कारण सोनी र टोयोटाजस्ता जापानी निर्यातकर्ताहरूले केही लाभ पाए पनि ऊर्जा र खाद्यान्न आयात गर्ने आम नागरिक र अर्थतन्त्रका लागि यो ठूलो चुनौती बनेको थियो। अमेरिकाका लागि पनि येनको अत्याधिक अवमूल्यन रोक्नु व्यापारिक सन्तुलन र विश्व बजारको स्थिरताका लागि हितकर देखिएको छ। विश्लेषकहरूका अनुसार संयुक्त मुद्रा हस्तक्षेपले अल्पकालीन रूपमा येनलाई सम्हाल्न र सट्टेबाजहरूलाई रोक्न मद्दत गरेको छ।  

तर, विनिमय दरमा दीर्घकालीन स्थायित्व कायम राख्न जापानको केन्द्रीय बैंकले ब्याजदरमा थप वृद्धिको कदम चाल्नुपर्ने उनीहरूको सुझाव छ। जापानी केन्द्रीय बैंकले ब्याजदर एक प्रतिशतमा राखेको छ, जुन अमेरिकी फेडरल रिजर्भको दरभन्दा अझै कम छ। बजारले अब आगामी सेप्टेम्बरमा हुने केन्द्रीय बैंकको नीतिगत बैठक र त्यहाँ हुने सम्भावित ब्याजदर वृद्धिलाई चासोका साथ हेरिरहेको छ।  

यो संयुक्त कदमले अल्पकालमा राहत दिए पनि दिगो समाधानका लागि जापानले आफ्नो मौद्रिक नीतिमा थप सुधार गर्नुपर्ने देखिन्छ। एजेन्सी

प्रकाशित: १८ श्रावण २०८३ १६:५० सोमबार