खाडी क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) का केन्द्रहरूलाई लक्षित गरी इरानले गरेको ड्रोन आक्रमणमा रूसको हात छ कि छैन भनेर अमेरिकी गुप्तचर निकायले गम्भीर अनुसन्धान थालेको छ।
रोयटर्स समाचार संस्थाले यस विषयमा जानकारी राख्ने मानिसहरूलाई उद्धृत गर्दै समाचार बाहिर ल्याएपछि यो कुरा चासोको विषय बनेको हो। अमेरिका र इजरायलविरुद्धको युद्धको क्रममा गत मार्च महिनामा साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा रहेको सीआईए स्टेसन र इराकको पूर्वमा रहेको अर्को ठाउँसहित कम्तीमा दुई वटा संवेदनशील केन्द्रमा आक्रमण भएका थिए।
इरानका ती आक्रमणले एकदमै सही निशानामा लागेर धेरैलाई हैरान बनाएका थिए। आक्रमण प्रभावकारी देखिएकाले अमेरिकी विश्लेषकहरूले इरानले रूसबाट जानकारी वा आधुनिक ड्रोन प्रविधिको सहयोग पाएको हो वा होइन भनेर गहिरो छानबिन गर्न बाध्य पारेको हो। अनुसन्धानमा खटिएका अधिकारीहरूले अहिलेसम्म अन्तिम निष्कर्षमा नपुगेको बताए पनि आक्रमणको तरिका हेर्दा बाहिरबाट प्राविधिक सहयोग मिलेको बलियो संकेत देखिएको बताएका छन्।
पेरिसस्थित साइन्स पो विश्वविद्यालयकी सहायक प्राध्यापक निकोल ग्राजेव्स्कीका अनुसार इरानको आक्रमणमा रूसको साथ हुनु स्वाभाविक कुरा हो। ‘इरानले गरेका धेरैजसो आक्रमणहरू पहिलेको तुलनामा धेरै आधुनिक भएकाले यो शंकास्पद थियो,’ ग्राजेव्स्कीले भनिन्, ‘इरानसँग रूसजस्तो राम्रो अन्तरिक्षसम्बन्धी क्षमता छैन। रूसको दाँजोमा इरानसँग आधारभूत कामको लागि पनि पर्याप्त सैन्य उपग्रहहरू छैनन्... त्यसैले उनीहरूले रूससँग मिलेर काम गरेको देखिन्छ।’
युद्ध र कडा प्रतिबन्धको यो जटिल परिस्थितिमा मस्को र तेहरानले आफ्नो सैन्य तथा रणनीतिक सम्बन्धलाई झन् गाढा बनाएका छन्। फेब्रुअरी २०२२ मा युक्रेनमा रूसले आक्रमण गरेपछि दुई देशबिचको सहकार्य अझ बढेको छ। इरानले रूसलाई युद्धमा सघाउन शाहेद ड्रोन र क्षेप्यास्त्रहरू दिएको छ भने बदलामा रूसले इरानलाई आधुनिक नेभिगेसन प्रणाली जस्ता अत्याधुनिक प्रविधि दिएर तिनको मारक क्षमता र सही निशाना लगाउने शक्ति बढाउन मद्दत गरेको आरोप लाग्दै आएको छ। यद्यपि रूसले भने यस्ता दाबीहरूलाई गलत भन्दै आएको छ।
गुप्तचर रिपोर्टहरूका अनुसार साउदी अरेबियामा भएको आक्रमणमा प्रयोग गरिएका इरानी शाहेद ड्रोनहरूमा रूसले सुधारेका प्रविधिहरूको प्रयोग भएको आशंका गरिएको छ। एउटा ड्रोनले दूतावासको बाहिरी भागमा प्वाल पारेको थियो भने अर्कोले ढोकाबाट भित्र छिरेर विस्फोट गराएको थियो। तर त्यस घटनामा कोही पनि मारिएका वा घाइते भएनन्। सीआईएका पूर्वप्रमुख तथा अधिकारी डेनियल हफम्यानले रूसले तेहरानसँगको सम्बन्धलाई ध्यानमा राख्दै अमेरिकी प्रभावलाई कमजोर पार्न यस्ता संवेदनशील केन्द्रहरूमा आक्रमण गर्न मद्दत गर्नु कुनै अचम्मको विषय नहुने बताएका छन्।
विश्लेषकहरूका अनुसार इरानसँग पहिले नै आफ्नै ड्रोन र क्षेप्यास्त्रहरू भए पनि रूसको गुप्तचर तथा प्राविधिक सहयोगले इरानलाई थप फाइदा पुर्याएको छ। अमेरिका र इरानबिचको द्वन्द्व झन् चर्किंदै गएको बेला रूसको यो सम्भावित सहभागिताले क्षेत्रीय द्वन्द्वलाई थप जटिल बनाउने मात्रै नभएर अमेरिका तथा रूसबिचको तनावलाई अझ बढाउन सक्ने देखिन्छ। एजेन्सीको सहयोगमा
प्रकाशित: ८ श्रावण २०८३ १३:२१ शुक्रबार