नेपाल सरकारले श्रीलंकामा हालै आएको विनाशकारी बाढीका कारण धेरै जनजीवनको क्षति र देशभर व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको छ।
द्विपक्षीय सम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलंकासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ। नेपाल सरकारले मृत्यु भएकाहरूको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकी डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ।
यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलंकाका जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार र नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १५ मंसिर २०८२ ०६:२२ सोमबार