अन्तर्राष्ट्रिय

युक्रेनमा युद्धकै बिच चुनावको माग : पूर्व रक्षामन्त्रीले उठाए गम्भीर प्रश्न

युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धका बिचमा नै चुनाव गराउनुपर्ने माग गरेका छन्। 

साढे चार वर्षअघि रूसले पूर्ण आक्रमण गरेयता युक्रेनमा मार्शल ल लागू छ, जसले गर्दा चुनाव रोकिएको छ। यस्तो अवस्थामा फेडोरोभको यो आह्वानलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि सबैभन्दा ठुलो चुनौतीका रूपमा हेरिएको छ।

मंगलबार युट्युबमा एक भिडियो सार्वजनिक गर्दै ३५ वर्षीय फेडोरोभले ‘रूसद्वारा लोकतन्त्रलाई बन्धक बनाउन सकिँदैन’ भन्दै आफ्नो धारणा राखेका हुन्। उनले युक्रेन एक स्वतन्त्र युरोपेली राज्यका रूपमा रहिरहनका लागि नै लडिरहेको बताए।

गत महिना अप्रत्याशित रूपमा रक्षामन्त्रीबाट बर्खास्त भएका फेडोरोभको यो भिडियोप्रति जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। रक्षामन्त्रीका रूपमा निकै लोकप्रिय रहेका फेडोरोभले मन्त्रालयमा भ्रष्टाचार विरुद्धको अभियान चलाउनुका साथै प्रविधिको प्रयोगबाट सेनाको कार्यसम्पादनमा सुधार गरेका थिए। उनलाई सेना प्रमुख ओलेक्जेन्डर सिर्स्कीसँगको तनावका कारण पदबाट हटाइएको चर्चा छ। फेडोरोभको बर्खास्तीपछि चर्को विरोध भएपछि सिर्स्कीलाई पनि पछि पदबाट हटाइएको थियो।

सरकारले उनलाई अन्य पदको प्रस्ताव गरे पनि फेडोरोभले आफू रक्षामन्त्रीका रूपमा मात्र फर्कने अडान लिए। उनका पक्षमा समय समयमा प्रदर्शन समेत हुँदै आएका छन्। आफ्नो भिडियोमा उनले राजनीतिक योजनाको स्पष्ट संकेत त दिएनन्, तर ‘लामो युद्धका बिचमा पनि युक्रेनलाई पूर्ण लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापित गर्न अनुमति दिने कानुनी, सुरक्षित र यथार्थपरक संयन्त्र’ को आवश्यकतामा जोड दिए।

जेलेन्स्कीको पाँच वर्षे कार्यकाल मे २०२४ मा सकिए पनि युद्धका कारण चुनाव हुन सकेको छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावबाट बच्न किभले युद्धको प्रयोग गरिरहेको आरोप लगाएका थिए। त्यसको जवाफमा जेलेन्स्कीले सुरक्षाको ग्यारेन्टी भए आफू ६० देखि ९० दिनभित्र चुनावका लागि तयार रहेको बताएका थिए।

यद्यपि, फेडोरोभको यस मागले कतिपय युक्रेनी टिप्पणीकारहरूलाई भने असन्तुष्ट बनाएको छ। आलोचकहरू युद्धको समयमा चुनाव गराउनु असम्भव र अव्यवहारिक हुने तर्क गर्छन्। तर फेडोरोभ युक्रेनले ‘शासनको प्रणालीगत संकट’ सामना गरिरहेको र परिवर्तनसँग डराएको आरोप लगाएका छन्। 

उनले युक्रेनमा व्याप्त भ्रष्टाचारलाई युद्ध प्रयासमा बाधक रहेको बताएका छन्। रक्षामन्त्री हुनुअघि डिजिटल रूपान्तरण मन्त्री रहँदा उनले ‘युक्रेनको आईटी आर्मी’ र ‘ड्रोनको सेना’ मार्फत युद्धमा ठुलो योगदान दिएका थिए। हाल युक्रेनले रूसविरुद्ध ड्रोन आक्रमणलाई तीव्र बनाएको छ भने मस्कोले पनि युक्रेनमाथि आक्रमण जारी राखेको छ। एजेन्सी 

प्रकाशित: ३ भाद्र २०८३ १३:५८ बुधबार