भारतको संघ सरकारमा गृहमन्त्री अमित शाहले दिल्लीको लाल किल्लानजिकै भएको कार विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी विस्तृत अनुसन्धान गरिने बताएका छन्।
सोमबार साँझ ६:५२ बजे सुभाष मार्गको ट्राफिक सिग्नलमा हुन्डाई आईट्वान्टि कार (हरियाणा नम्बर) मा भएको विस्फोट भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २० घाइते भएका छन्। विस्फोट यति जोडदार थियो कि नजिकैका केही सवारी साधनमा आगो लागेर क्षति पुगेको छ। घटनास्थलमा सात फायर इन्जिन पुगेका थिए।
शाहले भनेका छन्, ‘दिल्ली अपराध शाखा र दिल्ली विशेष शाखाको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।’ उनका अनुसार विस्तृत अनुसन्धान सुरु गरिएको छ। यसका लागि नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिइएको छ।
उनले भने, ‘मैले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको छु। घटनास्थलमा दिल्ली सीपी र विशेष शाखा प्रमुख उपस्थित छन्। हामी सबैसम्भावनालाई ध्यानमा राखेर गहन अनुसन्धान गर्नेछौँ। सबै विकल्पहरूको तुरुन्त अनुसन्धान गरिनेछ र हामी परिणामहरू सार्वजनिक गर्नेछौँ।’
दिल्ली प्रहरीले अवैध क्रियाकलाप निवारण ऐन (यूएपीए), विस्फोटक ऐन र भारतीय न्याय संहिताका धाराहरूमा मुद्दा दर्ता गरेको छ। एनआईए र एनएसजी टोलीहरू अनुसन्धानमा जुटेका छन्। सीसीटीभी फुटेजमा एकजना मात्रै कारमा रहेको देखिएको छ भने कारको मालिकसँग सोधपुछ भइरहेको छ। यसै दिन फरीदाबादमा जिश–ए–मोहम्मदसँग जोडिएको आतंकी मोड्युल भत्काई २९०० केजी विस्फोटक बरामद भएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे शाहसँग कुरा गरी जानकारी लिएका छन्। अमेरिका र बेलायतले यात्रा सल्लाह जारी गरेका छन् भने पञ्जाब र तेलंगाना जस्ता राज्यहरूमा उच्च सतर्कता अपनाइएको छ। एजेन्सी
प्रकाशित: २५ कार्तिक २०८२ ०८:०५ मंगलबार