अन्तर्राष्ट्रिय

पाकिस्तान, टर्की र साउदी अरेबियाबिच रक्षा सम्झौता

पाकिस्तान, टर्की र साउदी अरेबियाले पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्।

तेल धनी साउदी अरेबिया, आणविक शक्ति सम्पन्न पाकिस्तान र टर्की (जससँग नेटोको दोस्रो ठूलो सेना छ) ले शुक्रबार मक्कामा यो सम्झौता गरेका हुन्।

सम्झौतामा तीन देशमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथि आक्रमण मानिने उल्लेख छ। साउदी राजकुमार मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले मक्कामा यो सम्झौतामा हस्ताक्षर गरेका हुन्।

‘यो सम्झौता कुनै पनि आक्रमण विरुद्ध सामूहिक सुरक्षा बलियो बनाउनका लागि हो,’ पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ।

यो सम्झौता यस्तो बेला भएको छ जब मध्यपूर्वमा तनाव बढेको छ र साउदी अरेबिया आफ्नो सुरक्षा साझेदार बढाउन खोजिरहेको छ।

अमेरिकी अधिकारीका अनुसार इरान र ओमानबिच होर्मुज जलमार्ग खोल्ने सम्झौता चाँडै हुन सक्छ। उनका अनुसार सम्झौता भएमा अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेछ। तर इरानलाई जहाजबाट शुल्क लिन वा हस्तक्षेप गर्न दिने कुनै पनि शर्त अमेरिका स्वीकार गर्दैन।

इरान समर्थित हुथी समूहले शुक्रबार यमनको मारिब प्रान्तमा आक्रमण गरेको थियो। यसमा कम्तीमा दुई जनाको मृत्यु र १४ जना घाइते भए। हुथीले साउदी समर्थित सैन्य शिविरलाई निशाना बनाएको दाबी गरेको छ भने यमनी सरकारले शरणार्थी शिविर र आवासीय क्षेत्रमा आक्रमण भएको बताएको छ।

यसअघि बिहीबार साउदी अरेबियाको नजरान क्षेत्रमा पनि आक्रमण भएको थियो जसमा ११ जना घाइते भएका थिए। २०२२ को युद्धविरामपछि यमनमा लडाइँ रोकिएको थियो तर अहिले आक्रमण बढेको छ।

लेबनानी सेनाले शुक्रबार दक्षिणी गाउँ मन्सौरीमा बाटो खोल्ने क्रममा एक सैनिकलाई हल्का चोट लागेको बताएको छ। इजरायली ड्रोनले बुलडोजरमा आक्रमण गरेको थियो। इजरायलले यसबारे कुनै टिप्पणी गरेको छैन। एजेन्सी

प्रकाशित: २३ श्रावण २०८३ ०७:२१ शनिबार