अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भूकम्प: ज्यान गुमाउनेको संख्या आठ सय नाघ्यो

घाइतेको उद्धार गरिँदै । तस्बिर : गेट्टी इमेज

अफगानिस्तानको पूर्वी क्षेत्रमा आएको भूकम्पमा  ज्यान गुमाउनेको संख्या ८०० नाघेको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीले घटनास्थलमा उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । भूकम्पमा दुई हजारभन्दा धेरै घाइते भएका छन् ।  

६ रेक्टर स्केलको भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौँ ठूलो शहर जलालाबाददेखि २७ किलोमिटर टाढा र  सतहदेखि करिब १० किलोमिटर गहिराइमा रहेको बीबीसीले जनाएको छ ।  

संयुक्त राष्ट संघीय मानवीय मामिला समन्वय कार्यालय(ओचा)का अनुसार अफगानिस्तानका ४ प्रान्तमा फैलिएको यो भुकम्पले १२ हजार मानिसलाई प्रत्यक्ष प्रभाव पारेको छ ।  

आइतबार मध्यरातमा आएको यो भूकम्पका कारण माटो र ढुंगामाटोले बनेका घर भत्किएका थिए ।  भूकम्पका धक्का करिब ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो ।  

भूकम्पले दुर्गम पहाडी इलाका प्रभावित बनेका छन् । पहिरोले अधिकांस सडक बन्द भएका छन्।

घाइतेलाई भग्नावशेषबाट निकालेर हेलिकप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याउने क्रम जारी छ भने जीवितको खोजी अझै जारी छ ।

काबुलका स्वास्थ्य अधिकारीका अनुसार उद्धार टोली टाढा–टाढाका गाउँहरूमा पुग्ने प्रयास गरिरहेका छन् । यो इलाका यसअघि पनि पटक–पटक भूकम्प र बाढीबाट प्रभावित हुँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुनार प्रान्तका तीन गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन् अन्य धेरै गाउँहरूमा पनि ठूलो क्षति भएको छ । अधिकारिका अनुसार प्रारम्भिक प्रतिवेदनमा एक गाउँमै ३० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ र सयौँ घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

प्रकाशित: १६ भाद्र २०८२ १८:५८ सोमबार