भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात अर्नबले जनजीवन प्रभावित बनाएको छ।
आन्ध्र प्रदेश र ओडिशामा भारी वर्षा र तीव्र हावाका कारण तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
बुधबार बिहानदेखि आन्ध्र प्रदेश र ओडिशाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। बाढीको जोखिममा रहेका क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खराब मौसमका कारण रेल र हवाई सेवा प्रभावित भएका छन्।
बिहान करिब ३:४५ बजे आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात प्रवेश गरेको थियो। त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। विशाखापट्टनम, काकीनाडा र आसपासका क्षेत्रमा भारी वर्षा हुँदा सडक जलमग्न भएका छन्। समुद्रका ठुला छालले तटीय सडकमा क्षति पुर्याएका छन्।
ओडिशाका १६ जिल्लामा विद्यालय बन्द गरिएका छन् भने करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आन्ध्र प्रदेश र ओडिशामा चक्रवात प्रभावित मानिसलाई राख्न हजारौं आश्रय स्थलको व्यवस्था गरिएको छ। खराब मौसमका कारण ५० रेल र २१ उडान रद्द गरिएका छन्।
चक्रवातको प्रभाव तमिलनाडु, आन्ध्र प्रदेश, केरल, कर्नाटक, तेलंगाना, ओडिशा, पश्चिम बंगाल, बिहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ र महाराष्ट्रसहित १३ राज्यमा पर्ने अनुमान छ। मौसम विभागले विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको छ।
चेन्नईको एन्नोर समुद्र तटमा करिब २० फिट अग्ला छाल उठ्दा तटीय सडकमा पानी जमेको छ। यसका कारण सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। पुडुचेरीको यानम क्षेत्रमा तीव्र हावाले रूख ढलेपछि राजमार्ग बन्द गरिएको छ। आन्ध्र प्रदेशको काकीनाडामा समुद्रका ठुला छालले तटीय सडकमा समेत क्षति पुर्याएका छन्।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै माझीलाई समुद्रमा नजान सुझाव दिइएको छ। तमिलनाडुको थुथुकुडी जिल्लाका माझी लगातार तेस्रो दिन पनि माछा मार्न समुद्रमा गएका छैनन्। विशाखापट्टनम र ओडिशाको गोपालपुर क्षेत्रमा तीव्र हावासहित वर्षा भइरहेको छ। प्रहरीले सर्वसाधारणलाई समुद्र तटबाट टाढा रहन आग्रह गरेको छ।
मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश, बिहार, झारखण्ड, पूर्वी मध्य प्रदेश, छत्तीसगढ, ओडिशा, पन्जाब, हरियाणा, चण्डीगढ र दिल्लीमा वर्षा हुन सक्छ। पन्जाब, हरियाणा, चण्डीगढ र दिल्लीका केही क्षेत्रमा असिना पर्ने सम्भावना पनि छ। पश्चिम बंगाल, सिक्किम, आन्ध्र प्रदेश, कर्नाटक, रायलसीमा, कोंकण-गोवा, मध्य महाराष्ट्र, मराठवाडा, विदर्भ, पूर्वी राजस्थान र पश्चिमी मध्य प्रदेशमा पनि वर्षाको सम्भावना रहेकाले पहेँलो चेतावनी जारी गरिएको छ।
त्यस्तै शुक्रबार पूर्वी उत्तर प्रदेश, बिहार, पन्जाब, हरियाणा, चण्डीगढ र दिल्लीमा वर्षाको सम्भावना छ। पन्जाब, हरियाणा, चण्डीगढ र दिल्लीका केही क्षेत्रमा असिना पनि पर्न सक्छ। मध्य प्रदेश, पूर्वी राजस्थान, मध्य महाराष्ट्र, मराठवाडा, आन्ध्र प्रदेश, रायलसीमा, सिक्किम र पश्चिम बंगालका हिमाली क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८३ ०९:४९ बुधबार