अन्तर्राष्ट्रिय

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात आन्ध्र प्रदेश-ओडिशातर्फ, अलर्ट जारी

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ।

मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बङ्गालको खाडीमा चक्रवाती आँधी विकसित हुन सक्छ। उक्त चक्रवात अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले सम्बन्धित सबै विभागलाई सतर्क रहन र समयमै आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

सरकारले यस अवधिमा जनधनको क्षति रोक्न ‘शून्य मानवीय क्षति’ (जिरो क्याजुअल्टी) को लक्ष्य निर्धारण गरेको छ।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले चक्रवात अर्नबको सम्भावित प्रभाव र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे समीक्षा बैठक गरिएको बताएका छन्।

उनले भने, 'मौसम विभागका अनुसार अक्टोबर २८ को दिउँसो उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको बीचमा कुनै स्थानबाट चक्रवात तटमा ठोक्किने आशंका छ। यसका कारण दुवै राज्यका विभिन्न जिल्लामा भारी वर्षा हुन सक्छ।'

उनले थपे, 'सबै विभागलाई उनीहरूको जिम्मेवारी सुम्पिएको छ र पहिल्यैदेखि पूर्ण तयारी सुनिश्चित गर्न निर्देशन दिइएको छ। राज्य सरकार परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार छ। हाम्रो प्राथमिक लक्ष्य सधैँझैँ मानवीय क्षति शून्यमा झार्नु हो।'

मौसम विभागले अर्नब चक्रवातका कारण ओडिशा र आन्ध्र प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

यसैबीच, तमिलनाडुमा उत्तरपूर्वी मनसुन सक्रिय रहेको छ। पछिल्लो २४ घण्टामा राज्यका अधिकांश स्थानका साथै पुडुचेरी र कराइकलमा पनि हल्का वर्षा भएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०८:१५ आइतबार