अन्तर्राष्ट्रिय

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केट तथा अन्य खाद्य सामग्री बिक्री केन्द्रको रेफ्रिजरेसन प्रणालीमा भएको साइबर आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ।

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

फ्रान्सले घटनामा संलग्न व्यक्तिहरूमाथि युरोपेली स्तरमा प्रतिबन्ध लगाउने जनाएको छ।

गत अक्टोबर ११ र १२ को राति भएको आक्रमणका क्रममा सुपरमार्केटका फ्रिज तथा फ्रिजरको तापक्रम नियन्त्रण गर्ने प्रणाली ह्याक गरिएको थियो। आक्रमणकारीले टाढैबाट प्रणाली नियन्त्रणमा लिएर फ्रिजको तापक्रम बढाएका थिए। करिब छ घण्टासम्म तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो।

यसबाट फ्रान्सका करिब १० हजार सुपरमार्केटमध्ये ७०० प्रभावित भएका थिए। पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो। कम्तीमा १५ स्थानमा आगलागीसमेत भएको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले जनाएको छ। इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौं लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ।

फ्रान्सको साइबर संकट समन्वय केन्द्र (सी४) ले ‘शाहिद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग भएका उपकरण, फारसी भाषाका संकेत र इरानसँग सम्बन्धित इन्टरनेट ठेगानाहरू फेला परेका थिए।

यसैबिच, पेरिसका अभियोजकहरूले संगठित साइबर अपराध तथा विदेशी शक्तिका लागि गरिएको आक्रमणसम्बन्धी औपचारिक अनुसन्धान सुरु गरेका छन्। अनुसन्धान समूहका नेता, उनका दुई सहयोगी र अन्य सम्भावित संलग्न व्यक्तिमाथि केन्द्रित छ। उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गर्न अभियोजकहरूले माग गरेका छन्।

फ्रान्सका विदेशमन्त्री जीन-नोएल बारोटले इरानी राजदूतलाई बोलाएर घटनाप्रति कडा विरोध जनाएका छन्। उनले आक्रमणलाई यसको आकार र आक्रामकताका हिसाबले अभूतपूर्व भन्दै जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली स्तरमा प्रतिबन्ध लगाइने बताएका छन्।

यसैबिच, गत साता फ्रान्सका केही रक्त सञ्चय केन्द्रमा तापक्रम बढाउने उद्देश्यले अर्को साइबर आक्रमणको प्रयास भएको थियो। तर, रगतका उत्पादन तथा नमुनामा क्षति पुग्नुअघि नै उक्त प्रयास विफल पारिएको थियो।

स्विडेन, बेल्जियम, लक्जमबर्ग, आयरल्यान्ड र इस्टोनियाका सुपरमार्केटमा पनि फ्रिज तथा फ्रिजरमा समस्या देखिएको थियो। ती घटनामा साइबर आक्रमण भएको आशंका गरिए पनि फ्रान्समा भएको आक्रमणसँग तिनको सम्बन्ध पुष्टि भएको छैन।

एएनएसएसआईका अनुसार सन् २०२० यता फ्रान्सका विभिन्न क्षेत्रलाई लक्षित गरी भएका अन्य साइबर आक्रमणमा पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद सुओस्तारी’ समूहको संलग्नता देखिएको छ।

तीमध्ये सन् २०२३ मा व्यंग्यात्मक पत्रिका ‘चार्ली हेब्दो’ को अनलाइन प्रणाली र सन् २०२४ मा पेरिस ओलम्पिकसँग सम्बन्धित डिजिटल प्रणालीलाई लक्षित गरिएका आक्रमण पनि छन्। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८३ १४:५७ मंगलबार