विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्समा भएको साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका छन्।
करिब २० मिनेटमै यति ठुलो रकम सारिएको यो घटनालाई अहिलेसम्मकै ठुलो क्रिप्टोकरेन्सी चोरी मानिएको छ। ब्लकचेन अनुसन्धान गर्ने कम्पनीहरूले यसमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको आशंका गरेका छन्।
अमेरिकामा रहेको ब्लकचेन अनुसन्धान कम्पनी टीआरएम ल्याब्सका अनुसार ट्रेडर ट्रेटर नामक उत्तर कोरियाली ह्याकिङ समूहले यो आक्रमण गरेको हुन सक्छ। उक्त समूहले १० वटा ब्लकचेनमा रहेका बिनान्सका वालेटबाट करिब ६ अर्ब ३६ करोड डलर बराबरका सम्पत्ति सारेको थियो। यसको अधिकांश कारोबार करिब २० मिनेटभित्र भएको थियो। अर्को ब्लकचेन विश्लेषण कम्पनी चेनालाइसिसले पनि यस घटनामा सोही समूहको संलग्नता रहेको आशंका गरेको छ।
बिनान्सले प्रभावित सम्पत्तिको क्षतिपूर्ति दिन कम्पनीको कोषबाट ६ अर्ब ३४ करोड डलरभन्दा बढी रकम छुट्याएको जनाएको छ। कम्पनीले ब्लकचेन साझेदारसँग मिलेर करिब ३ अर्ब डलर बराबरका प्रभावित सम्पत्ति रोक्न सफल भएको पनि बताएको छ। प्रयोगकर्ताको सबै क्षति कम्पनीले बेहोर्ने प्रतिबद्धता जनाएको छ।
बिनान्सका सहकार्यकारी प्रमुख रिचर्ड टेङले घटनाको समाधानका लागि निरन्तर काम भइरहेको बताएका छन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा एउटा ल्यापटपमा समस्या देखिएको थियो। तर, थप अनुसन्धान गर्दा सुरक्षामा कमजोरी भएका अन्य स्थान पनि फेला परेका छन्।
टेङले बिनान्सको आफ्नै इन्टरनेटसँग जोडिएको डिजिटल वालेट प्रभावित भएको पुष्टि गरेका छन्। प्रयोगकर्ताको अधिकांश सम्पत्ति इन्टरनेटसँग नजोडिएका सुरक्षित वालेटमा राखिने र आवश्यक पर्दा मात्र इन्टरनेटसँग जोडिएका वालेटमा सारिने उनले बताए। आक्रमणकारीले जटिल तरिका अपनाएकाले अनुसन्धानमा कठिनाइ भएको पनि उनको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बिनान्समा भएको घटनाबारे अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताए। यसमा उत्तर कोरियाको संलग्नता छ कि छैन भन्ने पत्रकारको प्रश्नमा उनले 'हामी यसबारे अनुसन्धान गरिरहेका छौं' भनेका छन्।
विज्ञहरूका अनुसार उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक कठिनाइका कारण पछिल्ला वर्षमा क्रिप्टोकरेन्सी चोरी तथा अन्य साइबर गतिविधिलाई विदेशी मुद्रा जुटाउने माध्यम बनाएको छ। यस्तो गतिविधिबाट प्राप्त रकम देशको आणविक तथा सैन्य कार्यक्रमका लागि प्रयोग हुने गरेको उनीहरूको दाबी छ।
यसअघि सन् २०२५ को फेब्रुअरीमा अर्को क्रिप्टोकरेन्सी एक्सचेन्ज बायबिटमा भएको साइबर आक्रमणमा १ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति चोरी भएको थियो। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त घटनामा पनि उत्तर कोरियाली ह्याकर समूहलाई जिम्मेवार ठहर गरेको थियो।
चोरी भएका सम्पत्तिमध्ये केही रकम रोक्न सफल भए पनि बाँकी रकम ह्याकरहरूले अन्य क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्न थालेको विश्लेषकहरूको भनाइ छ। स्वतन्त्र क्रिप्टोकरेन्सी विश्लेषक ग्यारिक हिलेम्यानका अनुसार चोरीको सम्पत्ति अन्य क्रिप्टोकरेन्सीसँग मिसाएर कारोबार गर्दा त्यसको पहिचान र खोजी गर्न कठिन हुन्छ।
साइबर सुरक्षा विज्ञहरूले यस्ता आक्रमण थप जटिल बन्दै गएको चेतावनी दिएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले साइबर आक्रमणको जोखिम अझ बढाउन सक्ने उनीहरूको भनाइ छ।
बिनान्सले प्रयोगकर्ताको निक्षेप सुरक्षित रहेको जनाएको छ। तर, घटनापछि रोकिएको रकम झिक्ने सेवा एक वा दुई दिनभित्र पुनः सुरु गर्ने तयारी रहेको कम्पनीले बताएको छ। एजेन्सी
प्रकाशित: १४ कार्तिक २०८३ १०:२२ शनिबार