इंग्ल्याण्ड र वेल्समा सम्बन्धविच्छेदमा टुंगिने विवाहको अवधि अहिलेसम्मकै उच्च पुगेको छ।
नयाँ तथ्यांकअनुसार सन् २०२५ मा सम्बन्धविच्छेद भएका विपरीत लिंगी दम्पतीको वैवाहिक सम्बन्धको मध्य अवधि १३ वर्ष पुगेको छ। अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार सन् १९६३ मा तथ्यांक राख्न सुरु भएयता यो सबैभन्दा लामो अवधि हो। यसअघि सन् १९८५ मा यस्तो विवाहको मध्य अवधि ८.९ वर्षमा झरेको थियो।
सम्बन्धविच्छेदको अवधि लामो हुनुको सम्भावित कारणबारे चर्चा गर्दै सम्बन्धविच्छेदसम्बन्धी वकिल लिसा पेपरले दम्पतीहरूलाई सम्बन्धविच्छेदको आर्थिक भार धान्न कठिन भइरहेको बताइन्। द इन्डिपेन्डेन्टसँगको कुराकानीमा उनले दम्पतीहरू सम्बन्धविच्छेद गर्नुअघि मेलमिलाप, मध्यस्थता वा जोडीका लागि परामर्शजस्ता उपाय अपनाउने गरेको सुनाइन्। उनका अनुसार सम्बन्धविच्छेदपछि आउने आर्थिक असर विवाहलाई निरन्तरता दिनुभन्दा बढी कठिन हुने ठानिने भएकाले पनि दम्पतीहरू छुट्टिन हिचकिचाउने गरेका छन्।
ओएनएसका अनुसार सन् २०२५ मा इंग्ल्याण्ड र वेल्समा एक लाख पाँच हजार २ वटा सम्बन्धविच्छेद दर्ता भएका थिए। तीमध्ये एक लाख दुई हजार ८७९ विपरीत लिंगी र दुई हजार १२३ समलिंगी जोडीका सम्बन्धविच्छेद थिए। सोही वर्ष ९५९ वटा कानुनी साझेदारी सम्बन्ध पनि अन्त्य भएका थिए। तीमध्ये २७० विपरीत लिंगी र ६८९ समलिंगी जोडीका थिए।
सन् २०२५ मा भएको दुई हजार १२३ समलिंगी सम्बन्धविच्छेद पनि अहिलेसम्मकै उच्च संख्या हो। इंग्ल्याण्ड र वेल्समा सन् २०१४ देखि समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको थियो।
ओएनएसका अनुसार पछिल्ला वर्षमा भएका विवाह पहिलो १० वर्षमै सम्बन्धविच्छेदमा टुंगिने सम्भावना भने पहिलेको तुलनामा घटेको छ। सन् १९६५ मा विवाह गरेका जोडीमध्ये ९.९ प्रतिशतको विवाह १०औँ वार्षिकोत्सवअघि नै टुटेको थियो। सन् १९९५ मा यो दर बढेर २४.७ प्रतिशत पुगेको थियो।
तर सन् २००५ मा विवाह गरेका जोडीमा १० वर्षभित्र सम्बन्धविच्छेद हुने दर २०.७ प्रतिशतमा झरेको थियो। सन् २०१५ मा विवाह गरेका जोडीमा यो दर अझ घटेर १६.३ प्रतिशतमा सीमित भएको ओएनएसले जनाएको छ।
ओएनएसका अनुसार यी परिवर्तनका पछाडि कानुनमा भएका फेरबदल, विवाह गर्ने औसत उमेरमा आएको परिवर्तन तथा सम्बन्धविच्छेदप्रतिको सामाजिक दृष्टिकोणमा आएको परिवर्तनलगायत कारण हुन सक्छन्। ओएनएसको जनसंख्या तथा जीवनका घटनाक्रम विभागका प्रमुख ग्रेग सिलीले पछिल्ला केही वर्षयता सम्बन्धविच्छेदको दर स्थिर रहेको तर विगतको उच्च स्तरभन्दा कम रहेको बताए।
उनले सम्बन्धविच्छेद वा साझेदारी अन्त्य गर्ने मानिसहरू सम्बन्ध टुंगिनुअघि पहिलेको तुलनामा लामो समयसम्म सम्बन्धमा रहने गरेको बताए।
समग्रमा सन् २०२५ मा इंग्ल्याण्ड र वेल्समा सम्बन्धविच्छेद तथा कानुनी साझेदारी अन्त्यका एक लाख पाँच हजार ९६१ घटना दर्ता भएका थिए। यो संख्या सन् १९८०, १९९० र २००० को दशकको सुरुवाती वर्षमा देखिएको वार्षिक करिब एक लाख ५० हजारको उच्च स्तरभन्दा कम हो।
प्रकाशित: ९ आश्विन २०८३ २१:१७ शुक्रबार