अन्तर्राष्ट्रिय

एम्पायर स्टेट बिल्डिङको एन्टेनामा विवाह प्रस्ताव राख्ने दम्पतीमाथि मुद्दा

न्यूयोर्कस्थित एम्पायर स्टेट बिल्डिङको अग्लो एन्टेनामा चढेर विवाह प्रस्ताव राख्ने एक जोडीविरुद्ध गम्भीर अपराधको मुद्दा दर्ता गरिएको छ।

एन्जेला निकोलाउ र इभान कुज्नेत्सोभ (इभान बिर्कस) नामका ती साहसी पर्वतारोहीले म्यानहट्टनको १४५४ फिट अग्लो उक्त भवनको एन्टेनामा पुगेर प्रेम र शान्तिको सन्देश लेखिएको ब्यानर फहराएका थिए। उनीहरूले आफूहरूले आफ्नो इन्गेजमेन्टका लागि ‘केही विशेष’ गर्न खोजेको प्रहरीलाई बताएका छन्।

अदालतको कागजात अनुसार प्रहरीले १०४ औं तलाको सुरक्षा ढोकाको ताला तोडिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले उक्त भवनको एन्टेना बन्द गराएर निकोलाउ र कुज्नेत्सोभलाई तल झर्ने क्रममा नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि गम्भीर लापरवाह खतरा र चोरीलगायतका आरोपमा मुद्दा दायर गरिएको छ।

अदालतबाट बाहिर निस्कँदा उनीहरूले धेरै कुरा बोलेनन्, तर पत्रकारको प्रश्नमा कुज्नेत्सोभले भने, ‘हामी प्रेममा विश्वास गर्छौं।’

त्यस्तै, उनीहरूका वकिल जेसन क्रिन्स्कीले यस कार्यलाई एक सपनाजस्तै विवाह प्रस्ताव भन्दै बचाउ गरे। उनले भने, ‘प्रस्ताव गर्ने कस्तो तरिका-तपाईंले सपना मात्र देख्न सक्ने कुरा। त्यसोभए, तपाईंले त्यसको लागि केही श्रेय दिनुपर्छ।’

नेटफ्लिक्सको वृत्तचित्र ‘स्काईवाकर्स: अ लभ स्टोरी’ को विषय बनेका यी दुईले यसअघि पनि विश्वका विभिन्न अग्ला संरचनाहरूमा अनधिकृत रूपमा चढ्दै आएका थिए। एम्पायर स्टेट बिल्डिङको व्यवस्थापनले यस घटनालाई ‘अनधिकृत’ भन्दै सुरक्षाको विषयमा चासो देखाएको छ। न्युयोर्कको कानुनअनुसार उनीहरूलाई अदालतले जमानत बिना नै रिहा गरेको छ र थप कानुनी प्रक्रिया अघि बढेको छ। एपी

प्रकाशित: १९ असार २०८३ १२:२१ शुक्रबार