पाकिस्तानका सेना प्रमुख फील्ड मार्सल सैयद आसिम मुनिरले शिया धर्मगुरुहरूलाई लक्षित गर्दै ‘यदि तपाईंहरूलाई इरान यति धेरै मन पर्छ भने त्यहाँ गए हुन्छ, ढोकाहरू खुला छन्’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ।
उनको यो बयानलाई लिएर पाकिस्तानभरका शिया समुदायमा तीव्र आक्रोश फैलिएको छ। दाबी अनुसार गत बिहीबार रावलपिन्डीमा शिया समुदायका लागि आयोजित इफ्तार पार्टीमा मुनिरले यस्तो उत्तेजक टिप्पणी दिएका हुन्।
जानकारी अनुसार इफ्तार कार्यक्रममा मुनिरले शिया धर्मगुरुहरूलाई कडा शब्दमा चेतावनी दिँदै भने, ‘यदि तपाईंहरू इरानलाई यति धेरै माया गर्नुहुन्छ भने त्यहाँ गए हुन्छ, ढोकाहरू खुला छन्।’ उनले कुनै पनि नागरिकको अर्को देशप्रतिको निष्ठाका कारण पाकिस्तानमा अराजकता फैलाउन नदिने कुरा स्पष्ट पारेका थिए। मुनिरले अगाडि थपे, ‘अर्को देशमा भएका घटनाका आधारमा पाकिस्तानमा हुने हिंसा सहन गर्न सकिँदैन।’
यो टिप्पणीपछि शिया धर्मगुरुहरूले आफ्नो देशभक्तिमाथि प्रश्न उठाइएको तथा धार्मिक पहिचानलाई गलत रूपमा प्रस्तुत गरिएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। बैठकमा उपस्थित प्रमुख धर्मगुरु मोहम्मद शिफा नजाफीले मुनिरको भनाइको तत्कालै प्रतिवाद गरेका थिए। उनले पाकिस्तानको सेनामा पनि शियाहरू रहेको र देशका संस्थापक मुहम्मद अलि जिन्ना आफैँ शिया भएको कुरा सम्झाएका थिए।
अन्य धर्मगुरुहरू अल्लामा नजिर अब्बास ताकवी, मौलाना हसनैन अब्बास गार्देजीले पनि बैठकमा एकतर्फी बोल्ने र वार्ता नगरी अचानक छोडेर गएको आरोप लगाएका छन्।
बैठकपछि धर्मगुरुहरूलाई खाना खाएपछि वार्ता पुनः सुरु हुने भनिएको थियो। तर मुनिर अचानक कार्यक्रम छोडेर बाहिरिएपछि शिया धर्मगुरुहरूले सामूहिक रूपमा अपमानित महसुस गरे। त्यसपछि उनीहरूले आफ्नो वफादारी पाकिस्तान र इस्लाम दुवैप्रति रहेको स्पष्ट पार्दै देश निर्माणमा समुदायको योगदानको स्मरण गराए।
शिया धार्मिक नेताहरूका अनुसार मक्का, मदिना, इराक र इरान जस्ता धार्मिक स्थलसँगको सम्बन्ध उनीहरूको आस्थाको पाटो हो। तर यसको अर्थ उनीहरू कम देशभक्त हुनु होइन। उनीहरूले भने, ‘धार्मिक सम्बन्धलाई देशभक्तिसँग तुलना गर्नु सरासर गलत हो।’ उक्त कार्यक्रममा सहभागी भएका केही धर्मगुरुहरूले अहिले सार्वजनिक रूपमा मुनिरले भनेको कुरा उल्लेख गर्दै विरोध गरिरहेका छन्। केहीले मुनिरलाई प्रत्युत्तर दिँदै ‘तपाईं अमेरिका-इजरायलतिर जानुहोस्’ जस्ता टिप्पणी पनि गरेका छन्।
यो विवाद फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीको हत्यापछि पाकिस्तानमा भएको विरोध प्रदर्शनसँग जोडिएको छ। सो समयमा कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी दूतावास घेराउ गर्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको थियो। स्कार्दुमा संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरियो भने गिल्गित-बल्तिस्तानमा पनि ठुलो हिंसा फैलिएको थियो। पाकिस्तानभर भएका हिंसात्मक घटनामा धेरैको ज्यान गएको थियो। मुनिरले यी घटनाहरूका लागि शिया नेतृत्वलाई प्रत्यक्ष रूपमा दोषी ठहर्याउँदै सिंगो समुदायलाई जिम्मेवार बनाएका हुन्।
राजनीतिक विश्लेषकहरू मुनिरको यो व्यवहारलाई पाकिस्तानको विदेश नीतिमा आएको परिवर्तनका रूपमा हेर्छन्। पहिले इरान र खाडी देशहरूबिच सन्तुलन मिलाउन खोज्ने पाकिस्तान अहिले साउदी अरेबिया र अमेरिकासँग नजिकिँदै गएको देखिन्छ। पाकिस्तानले पटक-पटक इरानलाई साउदीसँग पाकिस्तानको रक्षा सम्झौता रहेको कुरा स्मरण गराउँदै आएको छ। यसको अर्थ इरान र साउदीबिच द्वन्द्व हुने अवस्था आउँदा इस्लामावादले रियादको पक्षबाट तेहरानविरुद्ध संघर्ष गर्न सक्छ भन्ने बुझिन्छ।
यद्यपि, पाकिस्तानी सेनाले जारी गरेको आधिकारिक विज्ञप्तिमा भने मुनिरले धार्मिक नेताहरूलाई राष्ट्रिय एकता र साम्प्रदायिक सद्भावका लागि अपिल गरेको भन्दै घटनालाई मत्थर पार्ने प्रयास गरिएको छ। इरानपछि विश्वमै दोस्रो ठुलो शिया जनसंख्या रहेको पाकिस्तानमा सेना प्रमुखको यस्तो टिप्पणीले आन्तरिक सुरक्षा र सामाजिक एकतामा चुनौती थप्ने देखिएको छ। पाकिस्तानमा कुल जनसंख्याको झण्डै १५ देखि २० प्रतिशत शिया छन्। पाकिस्तानको सैन्य, कर्मचारीदेखि हरेक तह र तप्कामा उनीहरूको उल्लेखनीय सहभागिता रहेको छ। एजेन्सी
प्रकाशित: ९ चैत्र २०८२ १३:२७ सोमबार