कांग्रेस सांसद शशि थरुरले भारतको वंशवादी राजनीतिको आलोचना गरेका छन्।
अन्तर्राष्ट्रिय प्रकाशन प्रोजेक्ट सिन्डिकेटका लागि अक्टोबर ३१ मा प्रकाशित ‘भारतीय राजनीति पारिवारिक व्यवसाय हो’ शीर्षकको लेखमा थरुरले भनेका छन्, ‘भारतमा राजनीति पारिवारिक व्यवसाय बनेको छ। जबसम्म राजनीति परिवारको वरिपरि घुम्छ, तबसम्म लोकतान्त्रिक सरकारको वास्तविक अर्थ अधुरो रहनेछ।’
थरुरले वंशवादी राजनीतिले लोकतन्त्रलाई गम्भीर खतरा उत्पन्न गरेको बताएका छन्। उनले भनेका छन्, ‘भारतले नातावाद त्यागेर योग्यतामा आधारित प्रणाली अपनाउने समय आएको छ। यसका लागि कानुनी रूपमा निश्चित पदावधि, आन्तरिक दलको चुनाव र मतदाता जागरूकता जस्ता आधारभूत सुधारहरू आवश्यक छन्।’
उनले नेहरु-गान्धी परिवारलाई भारतको सबैभन्दा प्रभावशाली राजनीतिक परिवारको रूपमा वर्णन गरेका छन्। थरुरले नेहरु-गान्धी परिवारको विरासत स्वतन्त्रता आन्दोलनसँग जोडिएको भनेका छन्। तर यसले राजनीति केही परिवारहरूको जन्मसिद्ध अधिकार हो भन्ने धारणा पनि निम्त्याएको उनको आरोप छ।
उनले देशभरका धेरै राजनीतिक परिवारहरूको उदाहरण दिँदै जम्मू कश्मीरका अब्दुल्लाह र मुफ्ती परिवारहरूले पनि पुस्तौंदेखि सत्ता सम्हालेको बताएका छन। यस लेखमा कांग्रेस नेताहरूले टिप्पणी गर्न अस्वीकार गरेका छन् भने भाजपाले यसलाई स्वागत गर्दै गान्धी परिवार र विपक्षी गठबन्धनमाथि प्रहार गरेको छ। एजेन्सी
प्रकाशित: १८ कार्तिक २०८२ १२:१० मंगलबार